एक दशकदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी
वि.सं.२०८३ मंसिर २ बुधवार ११:५९
shares

काठमाडौं, २ मंसिर । एक दशकभन्दा लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने सरकारले तयारी थालेको छ । कुनै समय नेपालको प्रमुख स्वदेशी टायर उत्पादक उद्योगका रूपमा परिचित गोरखाको उक्त उद्योगलाई पुनर्जीवन दिने विषयमा सरकारले छलफल अघि बढाएको हो ।
उद्योग पुनः सञ्चालनका लागि सरकारले उद्योगको वित्तीय दायित्व, विद्यमान भौतिक संरचना तथा सम्भावित सञ्चालन मोडलबारे अध्ययन गरिरहेको छ । उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सार्वजनिक–निजी साझेदारी (पीपीपी), सञ्चालन लिजमा दिने तथा निजी क्षेत्रका लगानीकर्ता भित्र्याउनेलगायतका विकल्पमाथि छलफल भइरहेको छ ।
सरकारले उद्योगको वर्तमान अवस्था र सम्भावित लगानीको ढाँचा मूल्याङ्कन गरी उपयुक्त विकल्प छनोट गर्ने तयारी गरेको छ ।
उद्योग पुनः सञ्चालनमा आएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै नेपालको स्वदेशी उत्पादन तथा औद्योगिक क्षेत्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यसले आयातमा निर्भरता घटाउन र मुलुकको उत्पादन क्षमता अभिवृद्धि गर्न पनि सहयोग पुर्याउन सक्नेछ ।
यद्यपि, उद्योग पुनः सञ्चालन गर्ने विषयमा सरकारले कुनै निश्चित मिति भने सार्वजनिक गरेको छैन ।

















