Dhulikhel Eco Banner new

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता

2.2K
shares

काठमाडौं, २ मंसिर ।  प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

त्यस अवसरमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको राहत तथा सहयोगप्रति धन्यवाद व्यक्त गरेको जनाइएको छ।

भेटमा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीबारे पनि छलफल भएको थियो। सो क्रममा राजदूत दलेलाले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताबारे जानकारी गराएका थिए।

राजदूत दलेलाका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका प्रमुख एजेन्डा तय भइसकेका छन्। भ्रमणलाई व्यवस्थित बनाउन दुवै देशका सम्बन्धित निकायले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिएका थिए।

भेटवार्तामा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।