Dhulikhel Eco Banner new

आर.एम.सी. फुड्सले प्राप्त गर्‍यो उत्कृष्ट करदाता र उत्कृष्ट निर्यातकर्ताको सम्मान

793
shares

काठमाडौं, ९ मंसिर । आर.एम.सी. फुड्स प्रा.लि.ले दुईवटा राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मान गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा पनि सम्मान प्रदान गरिएको छ।

कम्पनीले २०८३ मंसिर ७ गते ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको हो। आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।

त्यसैगरी, २०८३ मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ को सम्मान प्रदान गरिएको हो। ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित उक्त समारोहमा भन्सार विभागको सिफारिसका आधारमा कम्पनीलाई सम्मान गरिएको जनाइएको छ।

समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कम्पनीलाई सम्मानपत्र प्रदान गरेका थिए भने मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

आर.एम.सी. ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्स प्रा.लि.ले बाराको जीतपुरस्थित उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी न्युट्रिप्लस (Nutriplus) ब्रान्ड तथा अन्य खाद्य सामग्री उत्पादन र निर्यात गर्दै आएको छ।

कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले सरकारी सम्मानले निर्यात प्रवर्द्धन, स्वदेशी उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई थप बल पुगेको बताएका छन्। उनले व्यापार घाटा न्यूनीकरण तथा आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा जोड दिएका छन्।