Dhulikhel Eco Banner new

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुला

260
shares
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुने ८ लाख कित्ता सेयर काभ्रेको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । यस्तै, सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशतअर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउनेछन् ।
अंकित मूल्य १ सय रुपैयाँ रहेको सेयरमा स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० र अधिकतम ७ हजार कित्ताको सीमा तोकिएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार वैदेशिक रोजगारीमा रहेकाले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ । पूर्ण आवेदन नपरे म्याद मंसिर २४ सम्म लम्बिनेछ । स्थानीय बासिन्दाका लागि भने छिटोमा मंसिर २४ र ढिलोमा पुस १३ गतेसम्म निष्कासन खुला रहनेछ ।
स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट २ रुपैयाँ शुल्क तिरेर फारम भर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको साधारण लगानी फिर्ता अवधि साढे ४ वर्ष रहेको छ ।