तीन दिनको उकालोपछि नेप्सेमा करेक्सन, कारोबार रकम साढे ५ अर्बमा सीमित
वि.सं.२०८३ मंसिर १० बिहीवार १५:१६
shares

काठमाडौं, १० मंसिर । लगातार तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६.७५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन् । यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंकले घटेका छन् ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ ।
यस दिन ३५५ स्टकको ४९ हजार ८०६ पटकको कारोबारमा १ करोड ४७ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।
युनिक नेपाल लघुवित्तको शेयरमा सबैभन्दा धेरै वृद्धि
यस दिन शेयर मूल्य बढ्ने कम्पनीहरूको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.८८ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाई मूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यता, शेयर मूल्य घट्ने कम्पनीहरूको गिरावट दर पनि ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा रहेको एलएस होराइजन १२ को इकाई मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घटेको छ ।
कारोबारमा हिमालयन ऊर्जा विकास अगाडि
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआईसी एसिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ ।
१३ मध्ये १२ उपसमूहमा गिरावट
यस दिन कारोबारमा रहेका १३ उपसमूहमध्ये लगानी उपसमूहको परिसूचक मात्रै सामान्य अंकले बढेको छ । बाँकी १२ उपसमूहका परिसूचक घटेका छन् ।
घट्ने उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशतले ओरालो लागेको छ ।

















