Dhulikhel Eco Banner new

सरकारी कार्यक्रममा प्लास्टिक प्रयोग रोक्न उच्च अदालतको परमादेश

637
shares

काठमाडौं, १० मंसिर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परमादेश जारी गरेको छ ।

अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कोशी प्रदेश सरकारसहितका विपक्षी निकायका नाममा परमादेश जारी गरेको हो । अदालतले अबदेखि सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग नगरी उपलब्ध वैकल्पिक सामग्रीको प्रयोग गर्न र गराउन आदेश दिएको छ ।

प्लास्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रम निर्माण, प्रयोग वा कार्यान्वयन पर्याप्त नभएको अवस्थामा त्यसलाई उच्च प्राथमिकतामा राखेर निर्माण तथा कार्यान्वयन गर्नसमेत अदालतले आदेश दिएको छ ।

अदालतले निवेदकले उठाएका विषय मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषयसँग सम्बन्धित रहेको उल्लेख गरेको छ । नेपालको संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन, नीति, कार्यक्रम र अन्तर्राष्ट्रिय महासन्धि, अनुबन्ध तथा घोषणाहरूले समेत मानव स्वास्थ्यमा असर गर्ने प्लास्टिकलगायतका वस्तुको प्रयोग र पुनः प्रयोग न्यूनीकरण गर्दै अन्ततः प्रयोग नगर्ने व्यवस्था गरेको अदालतको आदेशमा स्मरण गराइएको छ ।

सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीजस्ता कार्यक्रमहरूमा प्लास्टिकजन्य सामग्रीको प्रयोग क्रमशः घटाउँदै लैजाने र त्यसका उपयुक्त विकल्प पहिचान गरी प्लास्टिकको प्रयोग अन्त्य गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त भइसकेको पनि अदालतले आदेशमा उल्लेख गरेको छ ।