राष्ट्रिय मनी चेन्जरको सञ्चालन अनुमति राष्ट्र बैंकद्वारा खारेज
वि.सं.२०८३ मंसिर १० बिहीवार १२:२९
shares

काठमाडौं, १० मंसिर ।नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनी चेन्जर प्रालिको सञ्चालन अनुमति खारेज गरेको छ । भीमदत्त नगरपालिका–४ मा रहेको उक्त कम्पनीले भारतीय रुपैयाँको खरिद–बिक्री गर्न केन्द्रीय बैंकबाट अनुमति लिएको थियो ।
नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयका अनुसार कम्पनीले आफ्नो व्यवसाय बन्द गर्ने निर्णय गर्दै सञ्चालन अनुमति खारेज गरिदिन औपचारिक निवेदन दिएपछि अनुमति खारेज गरिएको हो ।
कम्पनीको स्वेच्छिक निवेदनका आधारमा राष्ट्र बैंकले २०८३ कात्तिक २० गते अनुमति खारेज गर्ने निर्णय गरेको हो । राष्ट्र बैंक मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम उक्त निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अनुमति खारेज गर्ने निर्णय कात्तिक २० गते नै भए पनि यसबारे सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेको हो ।

















