पर्यटन विकासका कानुनी अवरोध हटाउन सात मन्त्रीबीच छलफल
वि.सं.२०८३ मंसिर १० बिहीवार १४:२१
shares

काठमाडौं, १० मंसिर । पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी र प्रक्रियागत जटिलता हटाउने विषयमा सरकारका सात मन्त्रीसहित उच्च अधिकारीहरूबीच छलफल भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुनमन्त्री सोबिता गौतमको पहलमा अन्तरमन्त्रालयगत बैठक बसेको हो ।
बैठकले विद्यमान कानुनी व्यवस्थाबीच रहेका असङ्गति, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउन आवश्यक कानुन संशोधनको तयारी थाल्ने निष्कर्ष निकालेको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सहभागी थिए ।
राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन र विस्तारमा समस्या देखिएको बैठकको निष्कर्ष छ ।
बैठकपछि कानुनमन्त्री गौतमले प्रकृति, जैविक विविधता र पर्यावरणको संरक्षण सुनिश्चित गर्दै लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय रोजगारी सिर्जनाका लागि कानुनी सुधार गर्न लागिएको जानकारी दिएकी छन् ।

















