रोजगारीका लागि अमेरिकी नागरिक पनि आउँछन् नेपालमा
वि.सं.२०७९ साउन १० मंगलवार १२:१८
shares

काठमाडौं, १० साउन । नेपालबाट विदेशमा श्रम गर्न जाने नेपाली श्रमिकको संख्या दैनिक जसो बढ्दै गएको देखिन्छ । कोरोना महामारी पछिको समयमा नेपालबाट रोजगागरीको खोजिमा विदेश जाने नेपालीको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको छ । तर नेपाली मात्रै रोजगारीका लागि विदेश जाँदैनन् विदेशीहरु पनि नेपालमा रोजगारी गर्न आउँछन् । नेपालबाट रोजगारीको खोजिमा विदेश जाने नेपालीको संख्या धेरै होला तर थोरै भए पनि नेपालमा विदेशी श्रमिकहरु श्रम इजाजत लिएर काम गर्न आउने गरेका छन् । त्यसमा शक्तिशाली देश अमेरिका, चीन, बेलायत, जापान लगायत देशका नागरिक रहेको छन् ।
नेपालबाट औषत रुपमा दैनिक १ हजार ५०० जना युवायुवती रोजगारीका लागि वैदेशिक यात्रामा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । तर नेपालमा पनि अमेरिका, युरोप लगायत देशबाट रोजगारीका लागि श्रमिकहरु आउने गरेका छन् ।
भारत र छिमेकी मूलुक चीनबाट नेपालमा रोजगारीका लागि आउनु सामान्य भए पनि अमेरिका, जापान, युरोपका विभन्न देशबाट रोजगारीका लागि नेपाल आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै करिब ८० देखि ९० वटा देशका नागरिक नेपालमा रोजगारी गर्न आएको विभागका निर्देशक तथा प्रवक्ता मणिनाथ गोपले जानकारी दिए ।
प्रवक्ता गोपका अनुसार गत आर्थिक वर्षमा नयाँ र नविकरण गरेर २ हजार १८१ जनाले इजाजत लिएका छन् । त्यसमा नयाँ ९५० जना र नविकरण गर्नेको संख्या १ हजार २३१ जना रहेको उनले बताए । यो अवधिमा इजाजत लिएर नेपालमा रोजगारी गर्ने आउनेमध्ये सबैभन्दा धेरै चीनका नागरिक रहेको उनले जानकारी दिए । चीनबाट यो अवधिमा १ हजार ६२९ जनाले इजाजत लिएका छन् ।
त्यस्तै वेलायतका १०६ जनाले इजातल लिदा अमेरिकका ८३ जनाले श्रम इजाजत लिएका छन् । त्यस्तै जापानका ६१ जना र भारतका ५७ जनाले इजाजत लिएको विभागको तथ्यांक हरेको छ । यी बाहेक युक्रेन, चाड, दक्षिण एसियाको श्रीलंका लगायत देशबाट नेपालमा रोजगारीका लागि युवाहरु आएको देखिन्छ ।
यो तथ्यांक इजाजत लिएर काम गर्नेहरुको मात्रै भएकाले खुल्ला सिमानाका कारण भारतबाट आएर नेपालमा काम गर्नेहरुको तथ्यांक यसमा समावेश गरिएको छैन् ।
अमेरिकाबाट मात्रै ८३ जना
धेरै नेपालीहरुका लागि अमेरिका सपनाको देश हो । अंधिकांश नेपाली अमेरिका जानका लागि मरिहत्य गर्ने गरेका छन् । तर अमेरिकी नागरिक पनि नेपालमा रोजगारी गर्नका लागि आउँछन् । गत आर्थिक वर्षमा मात्रै नेपालमा ८३ जना अमेरिकीहरु रोजगारीका लागि आएको विभागको तथ्यांकले देखाएको छ ।
उनीहरु नेपालका विभिन्न आयोजनाहरुमा काम गर्नका लागि नेपाल आएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । उनीहरु व्यक्तिगभन्दा पनि नेपालका आयोजनाहरुले अन्तराष्ट्रिय टेन्डर आह्वान गरेर उनीहरुलाई नेपाल ल्याउने गरेको उनको भनाइ छ । एक आर्थिक वर्षमा अमेरिका सहित चीन, बेलाय, जापान, कोरिया लगायत देशबाट नेपालमा श्रमिकहरु आएको देखिन्छ । अहिले कोरियामा नेपाली युवाहरु रोजगारीका लागि भाषा परिक्षा पास गरेर जाने गरेको छन् तर कोरियाबाट पनि ४४ जना रोजगारीका लागि नेपाल आएको गोपको भनाइ छ ।
उच्च दक्ष जनशक्ति
नेपालमा रोजगारीका लागि आएका अमेरिका, चीन लगायत देशबाट रोजगारीका लागि नेपाल आउनेमा उच्च दक्षता भएका व्यक्तिहरु नेपालका आयोजनाहरुले हायर गरेर ल्याएको विभागका प्रवक्ता गोपले बताए । उनका अनुसार विभागबाट श्रम इजाजत लिएर रोजगारी गर्नेहरु सबै नेपालमा त्यो क्षमताका व्यक्तिहरु नभएका कारण आएका हुन् । उनीहरुलाई आयोजनाहरुले ल्याउने र उनीहरुले नै यसका लागि इजाजत लिने गरेको उनको भनाइ छ ।
नेपालमा श्रम इजाजत लिएर रोजगारीमा संलग्न हुनेमध्ये अधिकाशं जलविद्युत् आयोजनासँग सम्बन्धित रहेको विभागको तथ्यांकले देखाएको छ । यो क्षेत्रमा सबैभन्दा धेरै चीनिया नागरिक रहेका छन् । काठमाडौं– तराई द्रुतमार्ग, मेची महाकाली रेलमार्ग, दुरसञ्चार लगायतका क्षेत्रमा विदेशी श्रमिकहरु रहेका छन् । उनीहरु प्राविधिक कर्मचारी रहेको पनि प्रवक्ता गोपको भनाइ छ ।

















