केही परे फोन गर्नु भन्दै काठमाडौं फर्किए परराष्ट्रमन्त्री खड्का
वि.सं.२०७९ साउन १९ बिहीवार ११:१०
shares

काठमाडौं, १९ साउन । कोशी पिडितहरुलाई ‘केही परे मलाई फोन गर्नु भन्दै’ परराष्ट्रमन्त्री डा. नारायण खड्का काठमाडौं फर्किएका छन् । कोशीले धार परिवर्तन गरेर उदयपुरको वेलकातर्फ पसेपछि त्यस क्षेत्रका स्थानीयहरु घर छाडेर भाग्न बाध्य भएका छन् ।
कोशी पसेपछि असुरक्षित बनेका स्थानीयलाई भेट्न उदयपुरको वेलका नगरपालिका पुगेका परराष्ट्रमन्त्री खड्काले आफू हतारमा भएको भन्दै फर्किएका हुन् । स्थानीयले भारतका कारण आफूहरु कोशी पिडित बन्नु परेको, सरकारले पनि आफ्नो जिउँधनको सुरक्षामा चासो नदिएको गुनासो गरेका थिए ।
सप्तकोशीको धार परिवर्तनपछि देखिएको भावुक दृश्य (फोटो फिचर)
केही समय आफ्ना कुराहरु सुनिदिन आग्रह गरेपनि परराष्ट्रमन्त्री खड्का आफू हतारमा भएको भन्दै काठमाडौं फर्किएका हुन् । केही आक्रोशित मुद्रामा देखिएका स्थानीयहरुसँग मन्त्री खड्का भने नरम मुद्रामा प्रस्तुत भएका थिए । स्थानीयसँगको उनले छोटो समयमात्रै कुराकानी गरे ।
‘पानीको बहाव कम भएपछि तपाईहरु आफ्नो घरमा आएर बस्नुहोला, तपाईहरुलाई कसैले बस्न दिएन भने मलाई फोन गर्नुहोला’ मन्त्री खड्काले भने, ‘अरु केही समस्यापरे पनि मलाई फोन गर्नुहोला, अहिले म धेरै हतारमा छु गएँ ।’ यति भन्दै खड्का काठमाडौं फर्किएका छन् ।


















