जापान नेपाल संयुक्त कार्यदलको बैठक बस्दै
वि.सं.२०७९ साउन १९ बिहीवार ११:०४
shares

काठमाडौं, १९ साउन । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक नेपालमा बस्न लागेको हो ।
नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे यो बैठकमा छलफल हुनेछ । संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल रुपमा सम्पन्न भएको थियो ।
कोरोनाका कारण भौतिक रुपमा सञ्चालन हुन नसकेको बैठक पहिलो पटक भौतिक रुपमा हुन लागेको हो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गर्ने छन् ।
नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसिरहेको मन्त्रालयका प्रवक्ता डुण्डीराज घिमिरेले जानकारी दिए । त्यसमध्ये ८५० जनालाई पहिलो चरणमा पठाइने छ । जापासँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।



















