Dhulikhel Eco Banner new

पहिरोले पाइप बगायो, सदरमुकाममा खानेपानी अभाव

5.2K
shares

काठमाडौं, २३ साउन । कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सरदमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए ।

“मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उनले भने, “सरकारी कार्याल सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए ।

“पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उनले भने, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।”

मान्म बजारमा सधँै खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुराउनेका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताए । “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समधान हुन्छ ।” उनले भने, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।”

सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्यायन गरिने नगर प्रमुख शाहीले जानकारी दिए ।