३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक
वि.सं.२०७९ भदौ १६ बिहीवार १३:१६
shares

काठमाडौं, १६ भदौ । कुमारी बैंक लिमिटेडले भोलि शुक्रवार अर्थात् भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ ।
सर्वसाधारणलाई निष्कासन गरिनेमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइटबाट आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।













