प्रभु बैंकको खाताबाटै रकम चोरी
राष्ट्र बैंक भन्छ– ठगीमा कारबाही हुन्छ
वि.सं.२०७९ भदौ २८ मंगलवार ११:५५
shares

काठमाडौं, २८ भदौ । प्रभु बैंक लिमिटेडको खाताबाटै रकम वेपत्ता भएको पाइएको छ । एक बीमा कम्पनीको उच्च तहका कर्मचारीको प्रभु बैंकमा रहेको खाताबाट ५० हजार भन्दा धेरै रकम चोरी भएको हो ।
चोरी भएको रकम इसेवा आईडी र खल्तीमा पुगेको पाइएको छ । आफ्नो खाताबाट रकम चोरी भएपछि नेपाल राष्ट्र बैंकमा उजुरी समेत परेको छ । घटना केही साता पहिलेको मात्रै हो । ति व्यक्तिले केटिएम भ्वाइसलाई बताए अनुसार उनको खाताबाट ५० हजार रुपैयाँ नेपाल टेलिकमको नम्बरमा रहेको इसेवामा पठाइएको छ । त्यससँगै २ हजार ८ सय रुपैयाँ भने खल्ती अकाउन्टमा ट्रान्सफर भएको छ ।
कसरी र कसले ट्रान्सफर गर्यो भन्ने खुलेको छैन । ति व्यक्तिले बैंककै बद्मासीका कारण यस्तो भएको बताएका छन् । एक्कासी आफ्नो खाताबाट रकम ट्रान्सफर भएको देखेपछि उनी अचम्ममा परेका थिए । कारोबार गर्दा सम्बन्धित मोवाइल नम्बरमा ओटिपी आउनु पर्नेमा ओटिपी समेत नआएको उनले बताए ।
बैंक खाताबाटै चोरि भएको रकम कहाँ पुग्यो भनेर खोज्दै जादा उनले इसेवा आईडी भएको नम्बर र खल्ती आइडी भएको नम्बर पत्ता लगाए । ‘रकम ट्रान्फर भएको नम्बरमा मैले फोन पनि गरे उनले रकम आएको स्वीकार गरेका छन्, यो विषयमा मैले बैंकलाई जानकारी गराए तर रकम फिर्ता आएन’ उनले भने । यस विषयमा प्रभु बैंकले भने कुनै प्रतिक्रिया दिएन ।
५० हजार पैसा दाङका यदुकुमार वलीको खातामा इसेवा खातामा पुगेको थियो । सुरुमा फिर्ता गर्न नमानेका उनले अहिले भने फिर्ता गरिसेका छन् । बैंकसँगको कनेक्सनमा आफूले भने ठगी नगरेको उनले बताए । ‘मेरो बैंकसँग साँठगाँठ छैन, झुक्किएर आएको होला’ केटिएम भ्वाइससँग उनले भने, ‘खाता वालाले थाहाँ पाएपछि मैले पैसा फिर्ता गरेँ ।
रकम फिर्ता नआएपछि उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा साउन २३ गते उजुरी दर्ता समेत गराएका छन् । २३ गतेको मिति दर्ता नम्बर १५० मा उनको उजुरी विभागले दर्ता समेत गरेको छ । घटनाले तहल्का मच्चाउने भएपछि इसेवामा गएकाे ५० हजार भने फिर्ता भएकाे छ तर खल्तीमा गएकाे रकम अझैसम्म फिर्ता भएकाे छैन ।
विभागका कार्यकारी निर्देशक गुरु पौडेलले कसैको खाताबाट रकम चोरी भएको भए त्यो ठगी हुने बताए । यस्तो बद्मासी पुष्टि भए ठगी कसुरमा बैंक कारबाहीमा पर्नसक्ने उनले बताए । यद्यपि, सबै कुरा भने पहिले बुझ्नु पर्ने उनको भनाइ छ । ‘कहिले काही आफ्नै परिवारका सदस्यबाट पनि कारोबार भएको हुनसक्छ, खातावालाले त्यो कुरा बुझ्नुपर्छ’ उनले भने, ‘साच्चिकै खातबाटै पैसा काटिएको हो भने कारबाही हुन्छ ।’

















