Dhulikhel Eco Banner new

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनका लागि आवेदन परेन

4.64K
shares

काठमाडौँ, ९ असोज । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन ।

आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक बोलपत्र प्रकाशित गर्ने तयारी गरेको बताइएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए । उनले भने, “दुई पटक बोलपत्र प्रकाशित गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन्, अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ ।”

प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । ठेक्का परेको कम्पनीले पाँच वर्षको करिब ५७ करोड बुझाउनुपर्छ ।

टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले भवनमा सञ्चालित आउटलेट व्यवस्थापनको जिम्मा लिनेछ ।
प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मकरुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिए ।