Dhulikhel Eco Banner new

बृहत कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल’ बबरमहलमा

4.77K
shares

काठमाडौं, ११ असोज । नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा भइरहेको छ । कार्यक्रमको समुद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले पानसमा बत्ती बालेर गरेका थिए । उनले यस्तो प्रदर्शनीले कला जगतमा थप उर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरु नै अगाडि आउनु पर्ने कुरा बताए ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरु, कला पारखीहरु, कलाकारहरुको उपस्थिति रहेको थियो । नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरुसँग सम्वाद गर्ने, सांगीतिककार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरुलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उदेश्य यस प्रदर्शनीको रहेको छ ।

साथै, वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ । यस कार्यक्रमको प्रमुख उदेश्य भनेको कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरुलाई अवगत गराउनु रहेको छ ।

साथै, नेपालको व्यापारिक कम्पनीहरु तथा लगानीकर्ताहरुले कला समेत गत लगानी गर्नका लागि यस प्रदर्शनीले प्रोत्साहन गर्ने उदेश्य समेत रहेको छ । नेपालीमा रहेका कला संकलकहरुले नेपाली कलाको अवस्था र कलाकारहरुको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सकिने छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ–आर्टस्ले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।

इ–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताउछिन्, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । मानिसहरु दशैँका लागि पहिले पहिले लुगाहरु किन्ने गर्दथे भने घरको सजावटको लागि चित्रकलाहरु पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौं।’

नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल बताउछिन् । पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो ।
करिब १३० भन्दा बढी कालकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु बताउछन् । किनकी यस प्रदर्शनीमा नेपालका क्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मदत गर्दछ । कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्न सक्छ ।

हिमाल, पहाड, तराईका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको छ । यस प्रदर्शनीमा चित्रकलाका साथसाथै मूर्तिकला, इन्स्टलेसन, एचिङ्ग तथा पौभाहरुलाई पनि समावेश गरिएको छ ।