Dhulikhel Eco Banner new

व्यवसायीलाई उपेन्द्र पौड्यालको प्रश्न– सुनको अण्डा दिने कुखुरीलाई मार्न खोज्ने ?

10.74K
shares

काठमाडौं, २७ असोज । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले व्यवसायीहरुलाई बैंकको समस्या बुझिदिन आग्रह गरेका छन् । पछिल्लो समय ब्याजदरको विषयलाई लिएर व्यवसायीहरुले बैंकको चर्को आलोचना गरेपछि अध्यक्ष पौड्यालले यस्तो आग्रह गरेका हुन् ।

नाडा अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष ध्रुब थापाले केटिएम भ्वाइससँगको कुराकानीमा ‘बैंकलाई खुला छाड्दा समस्या भएको’ बताएका थिए । बैंकलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने गरेको छ । ‘व्यवसायीलाई चाहिँ कसले नियमन गर्छ ?’ भनेर अध्यक्ष पौड्यालले प्रश्न समेत गरेका छन् ।

बैंकमा सहज हुँदा ब्याजदर पनि कम हुन्छ । कम ब्याजदर भएको बेला सानो रेटका लागि पनि अर्को बैंक जनो धम्की दिदै व्यवसायीहरुले फाइदा लिने गरेका थिए । त्यसरी लिएको फाइदा स्मरण गर्न पनि अध्यक्ष पौडेलले आग्रह गरेका छन् । बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका पौड्यालले अहिले बजारमा पैसा नभएर बैंकहरुले व्यवसायीहरुलाई फण्ड दिनकै लागि ब्याज बढाउनु परेको बताएका छन् ।

‘ब्याज घटेका बेलामा ब्याज घट्यो भनेर व्यवसायीले उपभोक्ताहरुलाई कहिल्यै मूल्य घटाएको हामीले सुनेको छैन’ उनले भने, ‘अहिले बजारमा पैसा नभएर त्यहीँ व्यवसायीलाई कसरी फण्डको जोहो गर्ने भनेर मेहनत गरिरहेका छन् ।’ बैंकहरु सुनको अण्डा दिने कुखुरी भएको बताउदै अध्यक्ष पौड्यालले भनेका छन्, ‘सुनको अण्डा दिने कुखुरीलाई एकै चोटी मार्न खोज्ने ? नरहे बाँस.. नरहे बासुरी ।’