Dhulikhel Eco Banner new

कुमारी बैंकको लाभांश प्रस्ताव स्वीकृत

5.6K
shares

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ ।

राष्ट्र बैंकले कुमारी बैंकले पेश गरेको गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र प्रस्तावित १२ दशमलव ५० प्रतिशत नगद लाभांशलाई स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै बैंकलाई आगामी वार्षिक साधारणसभाको बाटो खुला भएको छ ।

यस वर्ष बैंकले नगद लाभांश मात्र वितरण गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बैंकका शेयरधनीहरूले कर कटाएर नगद लाभांश प्राप्त गर्नेछन् ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकको शेयर कारोबार भने हाल रोक्का छ । यी दुई बैंकबीच असोज १० गते मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । एनसीसी बैंकको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रहेको छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी २५ अर्ब ८५ करोड ८ लाख ६१ हजार पुग्नेछ ।