इथियोपियामा हिंसा रोक्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आग्रह
वि.सं.२०७९ कात्तिक १ मंगलवार १३:०४
shares

काठमाडौं, १ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन् ।उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका छन् ।
यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन् । उनले भनका छन्, इथियोपियामा हिंसा बढी भयो । यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुदैन । अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ ।
संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका थिए । उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए ।
उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरेका छन् ।















