१६१ ले चढे मनास्लु
वि.सं.२०७९ कात्तिक १४ सोमवार १३:५६
shares

काठमाडौं, १४ कात्तिक । यस वर्षको शरद ऋतु असोज, कात्तिकमा एक सय ६१ आरोहीले मनास्लु हिमाल ८,१६३ मिटर आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिए ।
विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उनले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताए । अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ । यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो ।
मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । मनास्लु मानसिरी पर्वतशृङ्खलामा पर्दछ । यो मौसमका लागि मनास्लु आरोहण आकर्षक मानिन्छ ।
वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ । वसन्त ऋतुमा बढी सगरमाथा लगायत हिमालको आरोहण हुने गरेको छ । पर्वतारोहण शाखाको विवरणमा यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र तीन सय ७ पुरुष गरी कूल चार सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए ।
शरद ऋतुको आरोहणका लागि सगरमाथा ८, ८४८। ८६ मिटर०, मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ ।
शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

















