Dhulikhel Eco Banner new

अर्थ मन्त्रालयमा मन्त्रालयगत बजेट छलफल सुरु, पहिलो दिन ९ मन्त्रालयसँग विस्तृत वार्ता

1K
shares

काठमाडौं, २२ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारीअन्तर्गत मन्त्रालयगत छलफलको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बिहान ११ बजेबाट सुरु भएको छलफल साँझ करिब साढे ७ बजे सकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सुरु गरिएको छलफल मंगलबारसम्म निरन्तर चल्नेछ। पहिलो दिन गृह मन्त्रालय सँग छलफल सुरु गरिएको थियो।

त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग बजेटसम्बन्धी विस्तृत छलफल गरिएको हो।

छलफलमा स्वर्णिम वाग्ले को नेतृत्वमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरू, राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू र बजेट तथा कार्यक्रम महाशाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा महाशाखा प्रमुखहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोत व्यवस्थापनबारे गहन छलफल भएको जनाइएको छ।

बैठकमा श्रम मन्त्री रामजी यादव, उद्योग मन्त्री गौरी कुमारी, कानुन मन्त्री सोविता गौतम, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा तथा युवा मन्त्री सस्मित पोखरेल र सङ्घीय मामिला तथा भूमि व्यवस्था मन्त्री प्रतिभा रावल लगायत सहभागी भएका थिए। अर्थ मन्त्रालयका अनुसार मंगलबार बाँकी मन्त्रालयहरूसँग बजेट छलफल जारी रहनेछ।