Dhulikhel Eco Banner new

नवलपुरका किसानलाई सुन्तला बजारको चिन्ता हट्यो

6.12K
shares

काठमाडौं, १४ कात्तिक । नवलपुर (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उनी अहिले बगैंचाबाटै सुन्तला बिक्री हुँदा खुसी छन् ।

व्यापारीले बगैंचाबाटै सुन्तलाको मूल्य गरी खरीद गरेपछि उनलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । ‘पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीँबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ,’ उनले भने ।

नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा स्तरीय सुन्तला उत्पादन हुने गरेको छ ।

अहिले सुन्तला किसानले सुन्तला टिप्न शुरू गरेका छन् । अघिल्ला वर्षमा बजार अभावको समस्या खेपेका यस क्षेत्रका किसानको बगैंचामै अहिले कतिपय व्यापारी पुग्ने गरेका छन् । कतिपय व्यापारीले फोनबाटै सुन्तला माग गरेपछि किसानले टिपेर पठाइदिने गरेका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा राहत मिलेको छ ।

सुन्तला विक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरीद गरिदिँदा किसानलाई सहज भएको सुन्तला किसान गेसबहादुर रानाले बताए । व्यापारीको मागअनुसार स्थानीय स्तरमा सुन्तला संकलन गरी गाडीमा राखेर बजारसम्म पु¥याएमात्रै हुने उनको भनाइ छ । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उनले बताए । ‘व्यापारीले माग रामै्र गरिरहेका छन्, यही मूल्य तय गरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन,’ उनले भने ।

किसान आफैले सुन्तला बजारमा पु¥याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकोमा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यक्तिले सुन्तला संकलन गरी सोही ठाउँबाट खरीदविक्री गर्दै आएका छन् ।

बबकका सुन्तला किसानले अहिले प्रतिकिलो ५५ मा बगैंचाबाटै सुन्तला विक्री गर्दै आएका छन् । यो मूल्य राम्रो भएको सुन्तला किसानले बताएका छन् ।

यस वर्ष गतवर्षको उत्पादन समेत बढी भएको किसानको भनाइ छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोगकीराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताए । गतवर्ष एक हजार २० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष २० प्रतिशतले बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका पहाडी क्षेत्रका विभिन्न वडा समेटेर सुन्तला जोन कार्यक्रमसमेत सञ्चालन गरिएको छ, जसअन्तर्गत किसानलाई प्राविधिक सहयोगका साथै विभिन्न अनुदान प्रदान गर्ने गरिएको छ । यसले पनि सुन्तला उत्पादन बढाउन सहयोग पुगेको शर्माले बताए ।

गत वर्षभन्दा सुन्तला उत्पादन हुने क्षेत्र समेत बढ्दै गएको कार्यालय प्रमुख शर्माले बताए । जिल्लाका बौदिकाली, बुलिङ्टार र गैंडाकोटको पहाडी क्षेत्रमा गरी करीब सात हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला विक्रीबाट पाँच करोड १० लाख आम्दानी गरेकोमा यस वर्ष आम्दानी समेत बढ्ने अनुमान गरिएको छ । जोन कार्यक्रम सञ्चालन गरी किसानलाई सहयोग प्रदान गर्न थालेपछि सुन्तला खेतीतर्फ पहाडका किसानको आकर्षण बढ्दो छ ।
‘जोन कार्यक्रमबाट सुन्तला किसानलाई आवश्यक प्राविधिक सहयोगसहित अनुदान उपलब्ध गराउँदै आएका छौं, किसान यसतर्फ लाग्ने क्रम बढ्दो रहेको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘पहाडका किसानले सुन्तलाबाट राम्रो आम्दानीे लिन थालेका छन् ।