मोथे (निबन्ध)
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:१९
shares

पहाडमा जन्मे हुर्केको मान्छे म त्यसैले पहाडकै कुरा गर्छु । सागपात, फलफूल, मरमसला पहाडमा प्राय घरनेर कोठेबारीमै लगाइन्छ । पहाडी बस्ती प्राय भिरालो हुने र माटोको उर्वरतासमेत कम हुने । बर्सात्ले गर्दा धेरैजसो मल बगाएर लगिदिने हुँदा वर्षामा पहाडी बारीको उर्वरत्व वर्षेनी क्षति हुन्छ । यति भएर पनि घरआँगन छेउतिर, कोठेबारी, घुर्यान आदि घर गोठ नजिकचाहिँ मलिलो हुने । गोबरको रास, भकारो फाल्ने ठाउँ, जुतोको बिसर्जन हुने भएर पनि सागपात फलफूल घरनजिक उब्जाइन्छ । यद्यपि तराईमा पनि यी चिजबीजले कोठेबारी नै रोज्छन् ।
वर्षाको पानी खट्केपछि भदौतिरदेखि मेरी आमा रायोको साग रोप्ने गर्नुहुन्थ्यो । ९४ वर्षको उमेरमा अहिले पनि रोप्ने आँट चैँ मरेको छैन उहाँको तर शरीरले दिँदैन । सागपातलाई पर्ने मेहनतको के बयान गरौँ ? ३÷४ चोटि खन्यो, मल लायो, डल्ला सिनित्त पारेर फोर्यो । अनि मात्र साग लगाउनुपर्ने ।
सागपात सर्न ४/५ दिन त अवश्यै लाग्छ । खाने हुन त एक महिना जति लाग्ला सप्रियो भने । आमाले रोपेको साग सर्नु र खाने अवस्थामा पुग्नु त कहाँ हो कहाँ, मोथेलगायतका झारले ढपक्क ढाक्दथ्यो । पहाडी जीवनसँग अभ्यस्त जन मोथेसँग परिचित नै हुनुपर्छ । मोथे हेर्दा चाहिँ जमिनमाथि त्यति ठुलो हुँदैन, छिप्पिँदै गएपछि चाहिँ डाँठ पलाउँछ र फूल लाग्दछ । तर जमिन मुनि भने त्यसले विशाल साम्राज्य फैलाउँछ । मूलको फेदमै २÷४ वटा गाँठा लाग्ने अनि गाँठैगाँठाको सञ्जाल फैलाउने स्वभाव हुन्छ उसको । सागसब्जीलाई लगाएको मलखात मोथेले खाइदिन्छ र जमिनमुनि असमेल भएर फैलन्छ उन्नाइसौँ शताब्दीमा बेलायतले संसार कब्जा गरेर उपनिवेश बनाएजस्तै ।
पहाडी क्षेत्रमा फागुन/चैतको याम उखु रोप्ने बेला । सागजस्तै उखुलाई पनि रोप्न र हुर्काउन अति मिहिनेत पर्ने । अलिकति के सर्न पाको हुन्थ्यो सागलाई जस्तै उखुलाई पनि मोथेले ढपक्कै ढाकिदिने । खाम्तेलको पश्चिमतिर बहने हामी खाम्तेलेहरूको बेसी लैकू खोला (बोलचालमा लैखोला) उखुको लागि त्यो क्षेत्रकै सुप्रसिद्ध बेसी ।
लैकू खोलाभन्दा अझ भाटबेसी (बोलचालमा भाड्बेसी) बढी परिचित । लैकु खोलाको दोभान पञ्चकोशी छेउमा रहेको सानो गाउँ हो भाटबेसी । लैकू खोला, खाम्तेल र राजापानी नचिन्नेले पनि भाटबेसीलाई चिन्दछन् । यसको कारण सो ठाउँहुँदै उत्तरी खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा क्षेत्रका मान्छे तराई झर्ने नाका । अनि सो बाटो हिँड्दा भाट्बेसी अर्थात् लैखोलाको उखु–सखर खान नपाए यात्रा नै अपुरो हुने । मैले अहिलेसम्म पनि लैकु खोलाका जतिका स्वादिला उखु अन्त कमै पाएको छु ।
मोथे पलाउन कुनै बीजन छरिरहनु पर्दैन । मोथेको बीजन कहाँबाट आउँछ पनि थाहा हुँदैन, जति उखेले पनि कहिल्यै नहराउने, रोपेका साग र उखु आदिलाई झ्याप्पै खाइदिने । गोडमेल गरेन भने त सागको नामोनिशान हराउने । मोथेकै विशेषता बोक्ने बन्सो, इलामे लगायतका थुपै खाले झार पलाउथे बारीमा र सागसब्जी जस्ता असल बालीलाई खर्लप्पै खाइदिन्थे । तिनको प्रयोजन केही हुन्नथ्यो । गाइभैंसीले पनि उत्ति सारो मन नपराउने । मोथेकै स्वभावका हुने ती झारहरू ।
सागपात, फलफूलजस्ता असल र मानवहितकारी बस्तुहरू उमार्न, हुर्काउन र टिकाउन अनेक प्रयास प्रयत्न गर्नुपर्ने तर मोथे र मोथेहरूलाई बीउ नै नचाहिने, मलजल, गोडमेल नै नचाहिने । ए बाबा ! के हुँदोरहेछ मोथेमा जसले जति गोडमेल गरे पनि, उखेलेर फाले पनि । उखु र सागबारीमा मात्र होइन, मोथे र मोथेहरू त धर्ती, आकाश, मान्छे, समाज, राजनीति, अर्थतन्त्र सबैतिर हुँदारहेछन् । असल र गुणकारी वस्तुलाई मास्न, क्षति गर्न, सिध्याउने तत्व प्रकृतिले नै सिर्जना गरी पठाउँदो रहेछ ।
यत् पिण्डे तत् ब्रह्माण्डे (ऋग्वेद) । अर्थात् ब्रह्माण्डमा जे छ त्यही कुरा मानव शरीरमा पनि हुन्छ । पहिले आफ्नै कुरा गरौँ । मानव शरीर अर्थात् सानो ब्रह्माण्ड । ब्रह्माण्ड अर्थात् प्रकृति जगत्मा दुईखाले तत्व विद्यमान रहेझैँ मानव शरीरमा पनि दुईखाले तत्व विद्यमान रहेछन् : सकारात्मक र नकारात्मक । ब्रह्माण्ड र धर्तीमा जस्तै मेरो शरीरभित्र अर्थात् मभित्र पनि एक खाले उखु–साग वर्गका तत्व र अर्का खाले मोथे वर्गका तत्वहरू विद्यमान रहेछन् । साग हुर्काउन जति प्रयास गरे पनि मोथेहरूले हुर्कनै नदिने । सुखरूपी साग हुर्काउन खोज्यो मोथेले खाइदिहाल्छ । खुसीको साग, मुस्कानको साग, आनन्दको साग, व्यवस्थित जीवनको सागलाई जति मलजल गर्न खोजे पनि कहाँबाट आउँछन् मोथेहरू र डढाउँदै सखाप पारिदिनेरहेछन् ।
मान्छेले सागहरू रोप्न, स्याहार गर्न, मल हाल्न, बार बार्न जति खोजे पनि मोथेले नै खाइदिन्छ । सुखलाई दुःखले, सेवालाई ईष्याले, आनन्दलाई क्रोधले, शान्तिलाई कामनाले, समतालाई रागद्वेषले, सन्तोषलाई लोभले, ज्ञानलाई घमण्ड अर्थात् जडताले, उज्यालोलाई अन्धकारले, अमृतलाई विषले, सत्यलाई असत्यले ………..आदि आदि । मान्छेभित्र पनि उख–साग हुर्काउन अनेक प्रयास, प्रयत्न, मलजल, बारबेर गर्नुपर्ने तर मोथेहरू आफैँ जन्मने, हुर्कने । तिनलाई मल पनि नचाहिने बरु सागहरूकै मलजल खाइदिने र सागलाई नै समाप्त गरिदिने । परिवार समाजमा पनि त यौटा सुयोग्य प्रतिभा तयार गर्न सबै परिवार लाग्नुपर्ने र लामो समय कुनुपर्ने हुन्छ नि ।
शान्तिको स्रोत समतालाई रागद्वेषले खाइदिने रहेछ । यसै गरी सेवा, सद्भाव, सहयोग, सहिष्णुता जस्ता सकारात्मक तत्वलाई खाइदिने हजारौँ मोथेहरू आँ……. मुख बाएर बसिरहेका हुँदारहेछन् समाजमा । त्यागलाई खान लोभको मोथे दारा किटेर बसिरहेको हुँदो रहेछ । ज्ञानको बत्तीलाई अभिमान एवम् घमण्डले उज्यालो हुनै नदिँदोरहेछ । ज्ञानको यो बत्ती अर्थात् मान्छेको विवेकलाई मोहले जड बनाइदिँदो रहेछ जसका कारण उसले जिन्दगीभर यौटै कुरालाई समातेर बस्ने र सकारात्मक परिवर्तनका सारा किरणलाई झ्याप्पै निभाइदिँदो रहेछ । यसै गरी सन्तोषरूपी अमृतलाई खान ईष्र्यारूपी अन्धकार दारा अर्जापेर बसिरहँदो रहेछ ।
आमाको कोठाबारी र मान्छेभित्र मात्रै हैन मोथेहरू कहाँ हुँदा रैनछन् र ?
एक छिन प्रकृतिका साग र मोथेकै कुरा गरिहेरौँ न ।
गुणकारी पीपललाई ऐजेरुले खाइदिन्छ । मोथेजस्तै ऐजेरुको पनि बीउ चाहिन्न, माटो र मल पनि चाहिन्न, गोडमेल स्याहारसंभार पनि चाहिन्न । उसले त जसको सहारामा उभिएको छ उसैको खाना र नानामा जन्मने र हुर्कने मात्र होइन सो सहारालाई नै खाइदिने रहेछ । सिमलीमा जन्मिने र हुर्किने अविजालोलाई बीउ चाहिँदैन । पँहेलो लहरा हुने अविजालोले अन्ततः सिमलीलाई नै सिध्याइदिन्छ ।
यस प्रकारका मोथेबाट समाज र राष्ट्र अझै बढी पिरोलिँदो रहेछ । समाजमा कसैले राम्रो काम गर्न लाग्यो भने चारैतिरबाट उसको घाँटी समाइन्छ, उसको कामलाई दबाइन्छ र निष्तेज बनाइन्छ । समाजमा गजधम्म परेर बसेका छन् मोथेहरू साग–उखुभन्दा शक्तिशाली भएर । राजनीतिका मोथे, धर्म–संस्कृतिका मोथे, प्रशासनका मोथे, पार्टीका मोथे, अर्थतन्त्रका मोथे आदि ।
चिन्न सक्दारहेनछन् सोझासादाले मोथेहरूलाई । देखिँदा मोथेहरू अति मिलनसार, सहयोगी, समाजसेवी, कर्तव्यनिष्ठ देखिँदारहेछन् आवरणमा । तर हातीका देखिने दाँत काम नलाग्ने र चपाउने दाँत भित्र लुकेर बसेझैँ आवरणमा जति इमान प्रदर्शन गर्न खोजे पनि उनीहरूको सक्कली अनुहार उघ्रिने गर्दछ सत्यलाई छुपाउन नसकिए जस्तै । समाजका मोथेहरू अर्कालाई सहयोग गर्नु त परको कुरा उल्टै भड्काउने, बन्न लागेको काम पनि चुक्ली लगाएर बिगारिदिने, समाजको लागि हैन व्यक्तिगत स्वार्थ र लाभमा चुर्लुम्म डुबेका हुँदारहेछन् ।
राजनीतिका मोथेहरू चाहिँ सबैभन्दा डरलाग्दा हुँदारहेछन् । तिनले चाहिँ देशलाई नै दुर्गन्धित बनाउने, सुशासनमा अवरोध गर्ने, सरकारी सेवा सुविधा प्रवाहमा बाधा पुर्याउने तथा अन्ततोगत्वा राज्यव्यवस्थालाई नै प्रभाव पार्ने हुँदा राष्ट्रका सबै नागरिक प्रभावित हुने स्थिति बन्दोरहेछ । तिनले व्यापारीसँग, घनी र घरानियासँग साँठगाँठ गरेर राज्यसंयन्त्रलाई नै कमजोर गराउने र अर्थतन्त्र नै गलत बाटोतिर लगाइदिने र पंगु बनाउन पछि पर्दा रहेनछन् ।
राजनीतिका मोथेहरूले गलत सूचना प्रवाह गर्ने, अनावश्यक कुरा लगाउने, गलत तत्वहरूसँग सम्पर्क गराउने र राज्यका स्रोत साधनको एकलौटि तथा व्यक्तिगत प्रयोगलाई प्रोत्साहन गर्दारहेछन् । राजनीतिका यी मोथेहरूले असल, विद्वान्, सक्षम र दूरदर्शीहरूलाई अनेक बहाना बनाएर, कुरा लगाएर माथि जान दिँदा रहेनछन् । सत्तामा टिकिरहनु र सत्ताको तर मारिरहनु यिनको ध्येय हुँदोरहेछ ।
मान्छेभित्रको मोथेले यौटा मान्छेलाई असर गर्दोरहेछ । बोटबिरुवाका ‘मोथे’ ले सो बिरुवालाई मात्र खान्छ तर समाज र राष्ट्रका मोथेचाहिँ विनाशकारी, पश्चगामी, खुट्टातानकारी हुँदारहेछन् । सामाजिक मोथेले समाजलाई र राष्ट्रिय मोथेले राष्ट्रलाई नै सखाप बनाउँदो रहेछ ।
अहिले मोथेको सञ्जाल राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि डरलाग्दो गरी फैलिइरहेको छ । यो क्रम इतिहासदेखि नै नचलेको होइन । एक खालका मोथेहरू गोडमेल गरो फेरि मोथेका अनेकन संस्करणहरू विकसित हुँदा रहेछन् । अन्तर्राष्ट्रिय मोथेले गरिब, निमुखा तर स्रोतसाधनले सम्पन्न राष्ट्रमा बढी आँखा लगाउँने गर्दारहेछन् र साधनको दोहन गर्नु र आफ्नो देशमा लैजानु तिनको मुख्य उद्देश्य हुँदोरहेछ ।
अन्तराष्ट्रिय मोथेहरू पहिले पहिले राजनैतिक प्रभुत्व कायम गर्न उपनिवेश कायम गर्दै संसार हिड्दथे र आफ्नो अभीष्ट पूरा गर्दथे तर अहिले सोको स्वरूप फेरिएको छ । अर्थतन्त्रलाई कब्जामा राख्न वैधानिक रूपमै विभिन्न संस्था खडा गरेर संसारलाई सल्लाह दिने नाममा स्रोतसाधन लुटिरहेका छन् । अहिले ती धार्मिक–सांस्कृतिक उपनिवेश कायम गर्न बाघका पञ्जा फैलाइरहेका छन् । तिनीहरू मिसनरीका रूपमा, सहायताका नाममा निम्छरा देशभित्र प्रवेश गर्दछन् ।
सहयोग दिएजस्तो त गर्छन् तर एक हातले दिएर अर्को हातले उतै लैजाने काम पनि गरिरहेका हुन्छन् अनुगमनको नाममा, अध्ययन भ्रमणको नाममा आदि । यस्ता मोथेहरू सहयोगका नाममा धर्म प्रचार गरिरहेछन् र गरिब सोझा सादालाई भ्रममा पारेर धर्म परिवर्तन गराइरहेछन् । यद्यपि तिनले धर्म बुझेका हुँदैनन्, धार्मिक बनाउनु तिनीहरुको उद्देश्य पनि हुँदैन, तिनको उद्देश्य त सम्प्रदाय परिवर्तन गराउने काम मात्र गरिरहेछन् ।
मोथे र मोथेहरुबाट तपाईँ हामी कोही पनि अछुतो छैनौँ । म त प्रभावित छैन भन्ने भ्रममा तपाईँ हुन सक्नुहुन्छ । मोथेहरू राष्ट्रको उन्नति र समृद्धिका बाधकहरू हुन् । त्यसैले सधैँभरि गरिब देशको नागरिक बन्नुपर्ने स्थितिमा हामी सबै फसेका छौँ । यथार्थमा मोथेहरूले आफ्नै घरमा आगो लगाइरहेका हुन्छन् र नजानिँदो पाराले स्वयम् जलिरहेका पनि हुन्छन् ।
अहिलेको समय मोथेहरूकै फलिफापको समय रहेछ । मोथेहरू नै समाजमा हैकम जमाएर बसेका छन् जसले सादाहरूलाई निरीह बनाउने गर्दछन् । मोथेहरूले सामाजिक सुव्यवस्था, उन्नति र विकास, समृद्धि र शान्तिमा भाँजो हालिरहेछन् । सायद धर्मशास्त्रमा वर्णन गरिएजस्तै कलिको प्रभाव बढेर पो हो कि ? अपराध र पापलाई नै समाजले जायज मान्न थालेको छ समाज राष्ट्रले । वैधानिक रूपमै मोथेहरू राज्यको दोहन गरिरहेका छन् ।
मोथेहरू कानुन बनाउने भएपछि उसलाई त नीति बनाएरै लुट सञ्चालन गर्ने छुट रहेछ । मोथेहरूले एक छाक खान पाए भने राज्य नै बेच्न पनि पछि नपर्दारहेछन् अनि म निरीह भएर टुलुटुलु हेरिरहेछु – मोथेहरूले उखु–साग हुर्कन नदिएको, बढ्न नदिएको, उनीहरूको कदर हुन नदिएको, उनीहरूको योग्यता, दक्षता, सीप सडाएर विदेशतिर लखेटिरहेको । जति नै अपराध भए पनि बोल्न नसक्ने भइँदोरहेछ मोथेहरूका अगाडि ।
म रमिता हेरिरैछु रेटिँदैछ आत्मा
को हत्यारा भनौँ खोइ रगत छैन हात्मा ।
(राष्ट्रकवि माधवप्रसाद घिमिरे)
यी मोथेहरूलाई गोडमेल गर्ने मान्छे पर्खिरहेको म एक निरीह साग !



















