बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १०:११
shares

काठमाडौं, २५ कात्तिक । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् ।
तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् ।
मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्”, उनले भने ।
कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । तर निर्वाचनले जिल्लावासीलाई यहाँ आउन बाध्य बनाएको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उनले बताए ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताए । “प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मङ्सिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ”, उनले भने ।
प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा एमालेका पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा छन । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा छन ।

















