Dhulikhel Eco Banner new

“चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु” : नयाँ मतदाता

4.16K
shares

काठमाडौं, २६ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताए । “पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ”, उनले भने, “जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।”

उनले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताए। गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उनले बताए । “हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ”, उनले भने, “विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।”

त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै छन् । उनले पनि मतदान गर्न उत्सुकता जागेको बताए । “पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु”, उनले भने, “भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।” उनले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताए । “घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन”, उनले भने, “उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।”