बुद्ध एयरले पोखराबाट भारतका तीन गन्तव्यमा उडान गर्ने
वि.सं.२०७९ कात्तिक २८ सोमवार १७:४१
shares
फाइल फोटो
काठमाडौं, २८ कात्तिक । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्दै छ ।
बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादून उडान गर्न लागिएको हो ।
‘नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ,’ कम्पनीले भनेको छ,
‘त्यहाँबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।’ पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतवार, मंगलवार र बिहीवार हुने कम्पनीको भनाइ छ ।
एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा(दिल्ली(पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीले पोखरा(देहरादून(पोखरा रुटमा सातामा तीन ओटा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ















