मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेबाट आईपीओ जारी गर्ने
वि.सं.२०७९ पुस ८ शुक्रवार ११:२१
shares

काठमाडौं, ८ पुस । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशतका दरको रू. ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
त्यस्तै २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा बिक्री गरिनेछ ।















