GBIME

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्यो, क–कस्ले आवेदन दिन पाउने ?

1.21K
shares

काठमाडौं, ९ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज अर्थात सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेको नेपाली र सामूहिक लगानी कोषहरूमा शेयर बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि पनि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो ।

सार्वजनिक निष्काशनमार्फत बिक्री गरिने आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ खरीदका लागि माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने आवेदन गर्ने अवधि माघ २३ गतेसम्म लम्बिनेछ ।

सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको हिजोआजको अवस्थामा कम्पनीको आईपीओ माघ १२ गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।