Dhulikhel Eco Banner new

पहिलो चरणको आईपीओ जारी गर्दै मेन्छियाम हाइड्रोपावर

4.9K
shares

काठमाडौं, ३ फागुन । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्काशन गर्न लागिएको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बिक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर बिक्री हुनेछ ।

कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यी वाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरुमा बिक्री गरिनेछ र

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बिक्री गर्नेछ ।

यस आधारमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा १ लाख ८ हजार ५१७ कित्ता शेयर बिक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ९ गते आईपीओ बिक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तीनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।