Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्तको आईपीओमा १६५ गुणा बढी आवेदन

4.72K
shares

काठमाडौं, २२ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा १६५ दशमलव ८७ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवारसम्ममा १२ लाख १८ हजार ७३९ जना आवेदकले १ करोड ३४ लाख २७ हजार २६० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणमा निष्कासन गरेको शेयरको १६५ दशमलव ८७ गुणा बढी आवेदन हो । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पूँजी रू. ३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख बराबरको ९७ हजार कित्ता शेयर आईपीओको विक्री खुला गरेको हो ।

कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा यसअघि नै निष्कासन गरिसकिएको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । मागभन्दा बढी आवेदन परिसकेकोले कम्पनीको आईपीओ फागुन २३ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।