उद्योगी व्यवसायीहरुको चुनावी महासंग्राम, प्यानलसहित त्रिपक्षीय भिडन्त हुँदै
वि.सं.२०७९ चैत २८ मंगलवार १०:४०
shares

काठमाडौं, २८ चैत । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा आजबाट सुरु हुँदैछ । महासंघको साधारणसभाको औपचारिक द्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । साधारणसभाका कार्यक्रमहरु आज सकिदैछन् । साधारणसभा सकिएसँगै महासंघका अध्यक्ष शेखर गोल्छा आफ्नो कार्यकाल पूरा गरेर निवर्तमान बन्दैछन् । साधारणसभा सकिए लगत्तै विधानत चन्द्र प्रसाद ढकाल महासंघको स्वतः नयाँ अध्यक्ष बन्दैछन् ।
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष स्वतः हुने भएपनि बाँकी अन्य पदहरुमा भने चुनाव हुँदैछ । महासंघको चुनावमा तीनवटा समूह प्यानलसहित मैदानमा उत्रिएका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघईं प्यानलसहित चुनावी मैदानमा छन् । उमेशलाल समूहको जिल्लानगर उपाध्यक्षमा बहालवाला उपाध्यक्ष दिनेश श्रेष्ठ नै दोहोरिन चाहेका छन् भने अञ्जन समूहबाट अरुणराज सुमार्गी र संघईं समूहबाट सुरकृष्ण वैद्य मैदानमा छन् ।
वस्तुगत उपाध्यक्षका लागि उमेश समूहबाट हेमराज ढकाल, अञ्जन समूहबाट मनिषलाल प्रधान र रामचन्द्र समूहबाट सकुन्तला हिराचन मैदानमा छन् । उमेशलाल समूहले एसोसिएट तर्फको उपाध्यक्षमा भरतराज आचार्यलाई अघि सारेको छ भने अञ्जन श्रेष्ठले पनि आचार्यलाई सहयोग गर्ने बचन दिएको छ । एसोसिएट उपाध्यक्षका लागि रामचन्द्र समूहबाट भने ज्योत्सना श्रेष्ठ चुनावी मैदानमा छिन् ।















