लाइसेन्स बनाइदिने भनी ठगी गर्ने एक जना पक्राउदेखि १६औँ योजनाको विषयमा चासोसम्म
वि.सं.२०८० साउन ९ मंगलवार ०६:००
shares

काठमाडौं, ९ साउन । हिजो भारी अंकले सुधार आएको शेयर बजारमा आजभने दोहोरो अंकको गिरावट आएको छ । आज २७ दशमलव ७२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २२०० दशमलव ५० विन्दुमा पुगेको छ ।
सोमबार २६५ कम्पनीका २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ । आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ६ दशमलव १४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४१८ दशमलव ७८ विन्दुमा पुगेको छ ।
सुनको मूल्य घट्यो, चाँदीमा पनि ५ रुपैयाँको गिरावट
साताको सुन कारोबारको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोकार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।
आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औँ योजना लगायतका विषयमा चासो
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ । आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।
भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नती, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।
मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँने अर्थमन्त्री महतको दावी
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले हिजो बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे। मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री डा महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले पुँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे।
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने एक जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् ।
पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।















