Dhulikhel Eco Banner new

‘महंगीले जनताको ढाड सेकियो, बिद्रोहको विकल्प छैन’

6.16K
shares

काठमाडौं, ९ जेठ । पछिल्लो दश दिनको अन्तरमा दुई पटक इन्धनको मूल्य वृद्धि भए पछि नेपालीको भान्सा महंगो बन्ने भएको छ । नेपाल आयल निगमले अघिल्लो हप्तामात्रै इन्धनको मूल्य बढाएको थियो । पुनः सोमबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा वृद्धि गरेसँगै उपभोग्य वस्तुको मूल्य आकाशिने देखिएको छ ।

अहिले नै खाद्यान्न लागायत सामग्रीको मूल्य अत्याधिक रुपमा बढीरहेको अवस्थामा इन्धनको मूल्यमा भएको वृद्धिले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने देखिएको छ । अघिल्लो महिनासम्म २५० रुपैयाँ पर्ने तेलको मूल्य बजारमा अहिले नै ३३० पुगिसकेको छ ।

लगातारको मूल्य वृद्धिले सर्वसाधारणको जीवन नै दयनिय बन्न थालेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल्सिनाले बताएका छन् । उनले पछिल्लो समय पेट्रोल डिजेलमा भएको महंगीले नेपाली जनताको ढाड सेकिएको बताए ।

इन्धनको मूल्य बढ्दा सबै क्षेत्रमा मूल्य वृद्धिको असर पर्ने र उपभोक्ताको क्रय शक्तिनै घट्ने उनले बताए । यो अवस्थामा विद्रोह गर्नु बाहेक अरु कुनै पनि उपाए नभएको उनको भनाइ छ ।

भारतमा समेत मूल्य घटेको अवस्थामा विभिन्न बहानामा नेपालमा मूल्य वृद्धि भएको उनले बताए । ‘इन्धनको मूल्य वृद्धि सवारीको भाडा बढ्ने, खाद्यान्नको मूल्य बढ्छ, जसका कारण उपभोक्ता मारमा परेका छन्,’ महासचिव तिमिल्सिनाले भने ।

पछिल्लो १० दिनको अवधिमा इन्धनको मूल्यमा २० रुपैयाँ बढाइएको छ । जसले उपभोक्तालाई रुनु न हास्नुको अवस्थामा पुर्याएको छ । इन्धनमा विभिन्न किसिमको कर लागाइएका कारण मूल्य बढेको मञ्चका महासचिब तिमिल्सिनाले बताए । जनतालाई राहत दिनु पर्ने सरकारले दुःख दिने मात्रै काम गरेको आवाजहरु उठिरहेका छन् ।

पछिल्लो पटक बढाइएको मूल्यमा बिक्री गर्दा समेत नेपाल आयल निगमलाई मासिक रुपमा एलपी ग्याँसमा ३ अर्बको घाटा रहेको निगमले जनाएको छ । त्यस्तै डिजेलमा ३ अर्ब ४० करोड र पेट्रोलमा १ अर्ब रुपैया घाटा रहेको निगमको जनाएको छ ।