Dhulikhel Eco Banner new

अचार उत्पादनबाट मनग्य आम्दानी

5.19K
shares
काठमाडौं, ३२ साउन । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन गर्न  थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे ७ क्विन्टल र गल्का १ क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् ।
यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताउनुभयो । “आँपको अचार सबै बिक्री भयो”, उहाँले भन्नुभयो, “दैनिक ५० किलो अचार उत्पादन गर्छौं, मागअनुसारका अचार उत्पादन गर्ने गरेका र्छौं ।” चाँडै अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैशीको योजना छ ।
उनले भनले, ‘दैनिक २०÷२५ महिलालाई रोजगारी दिने योजना छ ।’ यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जजस्ता  सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताए।
यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ । पहिलोपटक उत्पादन सुरु गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताए। ‘सुरुआत भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौं’, उनले भने, ‘सिक्दैछौं, उत्पादन बढाउँदै जान्छौं ।‘ गुणस्तर मापनका लागि उनीहरुले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् ।
मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र महिलाले रु एक–एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् ।
विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए। महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने भएको छ । उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ ।’