GBIME

मनाङमा हिमपातका कारण यार्सागुम्बा सङ्कलन कार्य रोकियो

1.34K
shares

काठमाडौं, १३ जेठ । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् ।

हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताउछन् । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उनले भने ।

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा सङ्कलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उनले भने “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी सङ्कलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”

डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको बताएका छन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनको भनाई छ । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्र्किकएको उनी बताउछन् ।

आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताए । धादिङका १९ जनालाई यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताउछन् । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उनले भने ।

ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताए । यार्सागुम्बा सङ्कलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनी बताउछन् । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउनुहुन्छ । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु ४०० दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ”, रोहितले भने ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।

विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।