Dhulikhel Eco Banner new

एक वर्षमा अर्बको अम्रिसो निर्यात, भारतभन्दा बाहिरको बजार खै ?

13.9K
shares

काठमाडौं, ११ मसिंर । अहिले अम्रिसोे इलाममा मात्र नभई काभ्रे, नुवाकोट, धादिङ, पश्चिममा पाल्पा, गुल्मी, तिर पनि उत्पादन गरिन्छ । यो वर्ष १ अर्ब बढीको अम्रिसोे निर्यात भएको कुचो संघका केन्द्रिय अध्यक्ष राज कुमार कार्कीले  बताएका छन् ।

उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष अम्रिसो उत्पादन बढी भएको थियो । बिक्री पनि गत वर्ष भन्दा बढी नै भयोे । ‘मुख्य कुरा इन्डिया आफैँ अम्रिसो उत्पादन गर्ने देश हो, हाम्रो प्रडक्ट इन्डिया बाहेक अरु देशहरुमा ट्याक्सहरुको कारणले फोकस गर्न सकेनौं त्यसले गर्दा हामीलाई अलिकति गाह्रो भएको छ ।’ केटीएम भ्वाइससँगको कुराकानीमा उनले भने, ‘अहिले पुरानो अम्रिसो लगभग बेचि सकेको अवस्था छ, यसको नयाँ सिजन माघ देखि सुरु हुनेछ ।’

उनले यो बर्ष समग्रमा १ अर्ब भन्दा माथि अम्रिसो निर्यात भएको बताए । उनी अहिले अम्रिसो खेतीको लागि केहि समस्या नै नरहेको बताउँछन् । उनले विस्तारै मान्छेहरुमा अम्रिसोको प्रचारप्रसार भइरहेको भन्दै मानिसहरुको लागि पनि अति आवश्यक रहेको बताए । कुचोको लागि मात्र नभई दुधजन्य व्यवसाय र मासु जन्य व्यवसायहरुको लागि, घाँसको लागि यो राम्ररी नै मानिसहरुले रोपिरहेका छन् । तर युवाहरु गाँउमा नबस्ने, युवाहरु पलायन हुने क्रम बढ्दै गएकाले जनशक्ति विस्तारै अभाव हुने चिन्तामा छन् उनी ।

अम्रिसोको व्यवसायिक रुपमा पूर्वमा केहि जिल्लाहरुमा र पश्चिम तिर खेती हुन्छ । अम्रिसोको खेती दुई (पूर्ण व्यवसायिक र व्यवसायिक) किसिमले हुन्छ ।

इलाम तिर पूर्ण व्यवसायिक रुपमै खेती हुन्छ भने अन्य पहाडी जिल्लाहरु तिर पनि खेती सुरु हुँदैछ । उनका अनुसार अहिले नेपालमा अम्रिसो रोपेर यसलाई पूर्ण व्यवसायिकता दिइएको छैन । किसानहरुले पछिल्लो समय घाँसको लागि रोप्ने गरेका छन् ।

‘हरेक साल हाम्रो उत्पादन बढेको छ । यो पटक अरु धेरै उत्पादन बढ्ने हाम्रो अपेक्षा छ । उनले भने, ‘नयाँ सिजनमा लगभग हाम्रो २५ प्रतिशत उत्पादन बढ्छ भन्ने अनुमान रहेको छ ।’

कार्कीका अनुसार वर्षै पिच्छे उत्पादन वृद्धि हुदै जान्छ । तर उत्पादन वृद्धि भएपछि नेपालमा मात्र अम्रिसोको कुचो बनाएर प्रयोग गर्दा त्यसलाई उपभोग गर्न सकिदैन । नेपालले पहिलेदेखि अम्रिसो भारत पठाउने गरेको हो । यो वर्ष करिब १ अर्ब भन्दा बढी निर्यात गर्यौ । भारत अम्रिसो उत्पादनको एउटा ठूलो क्षेत्र हो । त्यहाँको सरकारले किसानहरुलाई बढी प्रोत्साहन दिएको कारणले त्यहाँको उत्पादन बढ्ने र हाम्रो पनि उत्पादन बढ्ने हो भने हामीलाई बजारिकरणमा समस्या हुने उनले बताए ।

नेपालको अम्रिसोको मुख्य बजार भारत हो । भारतले पनि गत वर्षमा भन्दा यो वर्ष बढि उत्पादन गरेको छ । भारतले यो वर्ष अम्रिसो बढि उत्पादन गर्दा नेपालको अम्रिसोले पाउनुपर्ने मूल्य पाउन सकेन । भारतले त्यति हुँदा हुँदै पनि नेपालबाट अम्रिसो आयात गरेकोमा कार्की निकै खुशी देखिन्छन् ।

नेपालले अम्रिसो निर्यात गर्ने सन्दर्भमा भारतमा मात्र भर पर्यो । नेपालले बङ्लादेश अम्रिसो लैजान ५१ प्रतिशत कर तिर्नुपर्ने हुँदा समस्या आएको बताउँछन् । करको कारण नै अम्रिसो त्यहाँ पठाउन नसकेको व्यवसायीको भनाइ छ ।

‘अम्रिसोको उत्पादनले हामीलाई निराश नै हुनुपर्ने स्थिती त होइन किनभने अम्रिसोे एकदम पौष्टिक जन्य घाँस हो । अध्यक्ष कार्कीले भने, ‘घाँसको लागि पनि उत्पादन गर्ने भएकोले डराउनु पर्ने अवस्था छैन, मुल्य आउनुपर्छ भन्ने कुरामा सबै जना सहमत हो त्यसैले हामीले अरु राष्ट्रहरु पनि खोज्नुपर्छ भारतमै मात्र सिमित भएर हुँदैन ।’