एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा
वि.सं.२०८० मंसिर ३० शनिवार १२:२३
shares

काठमाडौं, ३० मंसिर । हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल ४ सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार १ सय ४४ बालक र ६ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुई जना बालबालिका बालगृहमा संरक्षित छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कोशी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा रहेका छन् । मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा रहेका छन् । बागमती प्रदेशका दश जिल्लामा दुई सय ९६ बालगृह सञ्चालनमा छन् जहाँ तीन हजार ३ सय ९९ बालक र चार हजार ४ सय १५ बालिकाले अभिभावक पाएका छन् ।
गण्डकी प्रदेशका छ जिल्लामा ३७ बालगृह सञ्चालनमा रहेका छन् । जसमा ५ सय ३५ बालक र छ सय २३ बालिका गरी जम्मा १ हजार १ सय ५८ बालबालिका संरक्षित रहेका छन् । लुम्बिनी प्रदेशमा, सात जिल्लामा १९ बालगृह सञ्चालनमा रहेका छन् । जसमा २ सय ९१ बालक र दुई सय ५६ बालिका गरी जम्मा ५ सय ४७ बालबालिका संरक्षित छन् ।
कर्णाली प्रदेशका पनि छ वटै जिल्लामा दश बालगृह सञ्चालनमा छन् । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला रहेका १४ बालगृहमा एक सय ७८ बालक र १ सय ३७ बालिका गरी जम्मा ३ सय १५ जना बालबालिकाले आश्रय पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ४३ जिल्लामा सञ्चालित ४ सय १७ वटा बालगृहमा १० हजार नौ सय ५ बालबालिका संरक्षित थिए ।
परिषद्ले आव २०७९/८० मा सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहकार्यमा १२ वटा जिल्लाका १ सय २४ वटा बालगृहको अनुगमन गरिएको बताएको छ । सोही आवमा अभिभावक भएका २ सय ३८ बालक र २ सय ९० बालिका गरी जम्मा ५ सय २८ जना बालबालिकाको परिवारिक पुनर्मिलन गरिएको र प्रचलित मापदण्डविपरीत सञ्चालनमा रहेका २ वटा बालगृहबाट २७ जना बालक र १४ जना बालिकाको उद्धार गरिएको थियो ।

















