‘अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भयो’
वि.सं.२०८० फागुन १८ शुक्रवार १५:०८
shares

बागलुङ, १८ फागुन । नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताए ।
नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको मतहले बताए ।
‘म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो’, उनले भने, ‘तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।’
वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताए । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उनको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उनको भनाइ छ ।



















