Dhulikhel Eco Banner new

सुक्खा पहिरोले अवरूद्ध करिडोर तीन दिनपछि आयो सञ्चालनमा

3.59K
shares

बागलुङ, २८ फागुन । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ।

करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो।

सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन्।

पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो।

बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ।

शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए ।

दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए।