११ जना बैंकर्स पक्राउ : ५ दिन हिरासतमा राख्न म्याद थप
वि.सं.२०८० फागुन २९ मंगलवार १७:०६
shares

काठमाडौं, २९ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई प्रक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सिआइबीले हिरासतमा राखेर अनुसन्धान गर्ने थप ५ दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाडौंले सिआइबीलाई अनुसन्धान गर्ने ५ दिनको म्याद दिएको हो ।
सिआइबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार थप अनुसन्धानको लागि आदालतले ५ दिनको म्याद थप गरिएको हो । ‘अनुसन्धान चलिरहेको छ’, बोगटिले केटिएम भ्वाइससँग भने, ‘थप अनुसन्धान गर्नेको लागि ५ दिनको म्याद थप भएको छ ।’
सिआइबीले ११ बैंकर्सलाई फागुन १५ गते पक्राउ गरेको थियो । उनीहरुले तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा छदा कर्जा हिनामिना गरेको आरोपका आधारमा सिआइबीले पक्राउ गरेको हो ।
तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुल्सीराम गौतम, सेञ्चुरीका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा उनीहरु पक्राउ परेको सीआईबीले जनाएको छ ।
नेपाल बैंकर्स संघले बाहिर राखेर अनुसन्धान गर्ने पहल गरेको भएपनि सफल भने हुन सकेको थिएन ।















