सिआइबीले पक्राउ गरेको बैंकर्सलाई तत्काल नछाड्ने गृहमन्त्री श्रेष्ठको संकेत
वि.सं.२०८० फागुन १६ बुधवार १९:५२
shares

काठमाडौं, १६ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गरेको विषयमा गृह मन्त्रालयले उनीहरुलाई अहिले छाड्न नसक्ने संकेत गरेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टोलीले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पक्राउ परेका न्यौपानेसहित ११ जना बैंकर्सलाई छाड्न आग्रह गरेको थियो । तर, गृहमन्त्री श्रेष्ठले नछाड्ने संकते गरेको छलफलमा सहभागिले केटिएम भ्वाइसलाई जानकरी दिए ।
आज विहान बैंकर्स संघको पूर्ण बैठक बसेर बैंकर्स पक्राउ परेको विषयमा छलफल गरेको थियो । संघको करिब ९ बजे बसेको छलपल सकेर संघको टोली करिब ११ः३० तिर गृह मन्त्रालयमा गृहमन्त्रीलाई पक्राउ परेका बैंकर्सलाई छाड्न माग राखेका थिए ।
गृह मन्त्रालयमा बैंकर्स संघका अध्यक्ष सुनिल केसी, पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, प्रभु बैंकका सिईओ अशोक शेरचन र हिमालयन बैंकका सिइओ अशोक शमशेर राणासहित ५ जनाको टोली पुगेर पक्राउ परेका बैंकर्सलाई छाड्न आग्र गरेको थियो । तर, मन्त्रीले अहिले छाड्न नसक्ने संकेत गरेको स्रोतले केटिएम भ्वाइसलाई जानकारी दिएको छ ।
‘उहाँहरु(बैंकर्स संघको टोली) ५ जना आउनु भएको थियो’, स्रोतले केटिएम भ्वाइससँग भन्यो, ‘उहाँहरुले पक्राउ परेकाहरु भाग्ने होईन्, उहाँहरुलाई छाडेर अनुसन्धान गर्नुपर्ने माग राख्नु भएको थियो ।’
संघले पनि अनुसन्धन गर्ने सहयोग गर्ने तर बैंकर्सहरुलाई बाहिर राखेर अनुसन्धन गर्नुपर्ने माग राखेको गृह स्रोतको भनाई छ । ‘छानबिन बाहिर राखेर गरिदिँदा हामीलाई पनि सहज हुन्छ भनेर उहाँहरु(बैंकर्स संघको टोली)ले भन्नु भएको थियो’, स्रोतले भन्यो, ‘यसरी धरपकड गर्दा डर पैदा भएको छ, भन्ने खालको उहाँहरुको कुरा थियो ।’
संघको मागलाई गृहमन्त्रीले भने छाड्न नसक्ने संकेत गरेको देखिएको छ । गृहमन्त्रीले अहिले सहकारीमा समस्या देखिएको र सोही समस्यालाई समाधान गर्ने विषयमा बैंकर्स पक्राउ परेको बताएको स्रोतको भनाई छ ।
‘गृहमन्त्री ज्यूले केही सहकारीहरु ठग्ने नियतका साथ नेटवर्क बनाएर चलाएको देखिएको छ, त्यसको छानबिन भईरहेको छ, भन्नु भयो’, स्रोतले केटिएम भ्वाईसँग भन्यो, ‘मन्त्री ज्यूले हामीले त्यस्ता नियत राख्नेलाई कुनै हालतमा नडाड्ने बताउँनु भयो, त्यहि सिलसिलामा सिआईबीले पक्राउ गरेको हो भनेर उहाँहरुलाई भन्नु भएको छ ।’
अहिले अनुसन्धानको क्रममा रहेको र त्यसको जरो पत्ता लगाएर छाड्ने मन्त्री श्रेष्ठले संघलाई बताएको स्रोतको भनाई छ । ‘केही समय छानबिन गरि त्यसको जरो पत्ता लगाउनजेल अनुसन्धान हुन्छ, मन्त्री ज्यूले भन्नु भयो’, स्रोतले भन्यो, ‘तपाईहरु यो अनुसन्धानलाई साहयो गरिदिनुस्, भनेर मन्त्री ज्यूको आग्रह थियो ।’
केही समय पछि छाड्ने तर बैंकर्स संघले भनेको जस्तै अहिले तुरुन्तै छाड्न भने नसक्ने खालको मन्त्रीले संकेत गरेको स्रोतको भनाई छ । ‘निर्दोश भए अनुसन्धान गरेर उहाँहरुलाई छाडी हाल्छौँ’, मन्त्रीको भनाई उद्धित गर्दै स्रोतले भन्यो, ‘निर्दोश भए केही समय पछि छाड्छौँ, अहिले अनुसन्धन गर्ने दिनुस् ।’



















