Dhulikhel Eco Banner new

उपल्लो दुखुमा पोल गाडेको ४ वर्षपछि बिजुली बल्यो

3.99K
shares

म्याग्दी, ५ वैशाखः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो । विस २०७६ मा पोल गाडिएको थियो ।

सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए । “पोल गाडेको ४ वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ”, उनले भने, “उपल्लो दुखुका ४१ र खुवाङका ८ घरमा गत असोजमा बिजुली बलेको थियो । पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो ।”

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताए । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव ५ किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे ।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ ।

केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा १ सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए । पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ ।

म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९÷८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका ४ सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ ।

म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका २ हजार २ सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए।