Dhulikhel Eco Banner new

स्वास्थ्य शिविरमा चार सय बिरामीको निःशुल्क उपचार

4.32K
shares

काठमाडौं, १६ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ ।

दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिए ।

शिविरमा वडा नं ४ सिङ्गाका सबै गाउँबस्तीसँगै छिमेकी वडाका बिरामीको पनि उपचार गरिएको थियो । शिविरबाट नशा र हाडजोर्नीको समस्या भएका बिरामीले बढीजसो सेवा लिएका छन् ।

शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी, नशा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरी शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा, बाथरोगलगायतको निःशुल्क औषधि वितरण गरिएको सभापति बानियाँले बताए ।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा कृष्णराज अधिकारी, डा. सरोजचन्द्र दाहाल, डा. विराट शर्मा, डा. राज गुरुङ, बेनी अस्पतालका डा. अन्जु थापा, डा. रामु सापकोटासहित ३५ स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढिजसो लाभान्वित भएका बेनी नगरपालिकाका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।