Dhulikhel Eco Banner new

सहिदको स्मृतिमा उद्यान निर्माण

3.85K
shares

काठमाडौं, १९ असार । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।

सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताए । उनका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिएको छ ।

अघिल्लो वर्षदेखि निर्माण सुरु भएको उद्यान चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको संयुक्त लगानीमा उद्यान निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा १५ लाख, चालु आवमा २० लाख र गाउँपालिकाले गत वर्ष २ लाख र चालु आवमा २ लाख विनियोजन गरेको थियो ।

३९ लाख बजेटबाट ३ सय ५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबार निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । सहिदको सम्मानसँगै पर्यटन प्रवर्द्धन गर्न उद्यानले टेवा पुर्याउने भन्दै उद्यान जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिएको उनको भनाइ छ ।

“सहिदको स्मृतिमा यो उद्यान निर्माण गरेका हौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । उद्यानसँग पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिएका यही ठाउँका सहिदको सालिक उद्यानमा राखेका छौँ”, वडाध्यक्ष थापाले भने ।

उद्यानले गाउँको सुन्दरतालाई बढाएको भन्दै गत वर्ष चौतारालगायत भौतिक संरचना निर्माण गरिएको थापाले जानकारी दिए । “उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राखेर यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ”, उनले भने।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यहाँ उद्यान निर्माण गरिएको बताए । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नं १ मा सहिद उद्यान निर्माण गरिएको उनको भनाइ छ । काठेखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले पर्यटनसम्बन्धी संरचना थप्दै जाने योजना रहेको उनले जानकारी दिए ।