आरबीबी सेक्युरिटिजको व्यावसायिक कारोबारको शुभारम्भ
वि.सं.२०८१ असार २७ बिहीवार ११:३२
shares

काठमाडौं, २७ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) यहि असार २६ गतेबाट सञ्चालनमा आएको छ ।
धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैंया रहेको छ ।
सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० श्राावण ३२ गते स्वीकृति प्राप्त गरेको आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको माघ ३ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो ।
त्यसैगरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।



















