Dhulikhel Eco Banner new

बागबजारमा वर्षैभरि जुत्ता मेला, सस्तो मूल्यमा गुणस्तरीय जुत्ता पाउने

9.11K
shares

काठमाडौं, २४ जेठ । जुत्ता उत्पादकहरुले काठमाडौंको बागबजारमा वर्षभरी नै चल्ने जुत्ता मेला शुरु गरेका छन् । भृकुटिमण्डपमा गर्मी महिनामा ‘समर सेल’ र जाडो महिनामा ‘विन्टर सेल’ भन्दै मेला लगाउने गरेका केही जुत्ता उत्पाकहरले बागबजारमा मंगलबारदेखि स्थायी रुपमा नै मेला शुरु गरेका हुन् ।

मेलाको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले नेपाल मै उत्पादन भएका जुत्ताहरु विदेश जाने गरेको सुन्दा खुःसी लागेको बताएका छन् । जबसम्म देश आत्मनिर्भर बन्दैन तबसम्म देश विकास हुन नसक्ने भन्दै आत्मनिर्भर हुने गरी लाग्नु पर्ने उनले बताए ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले आन्तरिक बजारको मागभन्दा निकै धेरै उत्पादन भइरहेको बताएका छन् । देशभरबाट १६ करोड जोर जुत्ता उत्पादन हुने गरेको भन्दै खपत ११ करोड जोर मात्रै हुने गरेको उनले बताए ।
त्यसमा ९–१० करोड आन्तरिक बजारमा खपत हुने र १ करोडको हाराहारीमा विदेश निर्यात हुने गरेको उनको भनाइ छ ।

साथै राज्यले नीतिगत रुपमा राम्रो व्यवस्था गरिदिएको भए पनि कार्यान्वयन फितलो रहेको उनले बताए । पछिल्लो ९ महिनाको अवधिमा करिब ५० प्रतिशतले आयात घटेको अध्यक्ष घिमिरेको भनाई छ । तर पनि नेपाली जुत्ताको बिक्री भने घटिरहेको उनले बताए । यसमा चोरी पैठारीबाट आएको सामानले लिएको बताएका छन् । यसमा राज्यले विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।

फोटो, भिडियो : ममता वली