Dhulikhel Eco Banner new

चीन–इक्वेटोरियल गिनी मित्रता स्कूलः एक विश्वसनीय साझेदारीको प्रतिविम्ब

साझेदारी र सहयोगको एक प्रेरक नमूना स्कुल, जहाँ पढ्छन् २११८ जिनपिङ विद्यार्थी

3.71K
shares

युनान, ८ नोभेम्बर । चीन बसाइको लामो समय भइसकेको छ । अगष्ट १५ मा बेइजिङ अवतरण भए पश्चात विभिन्न सहरहरु घुम्ने अवसर पाएको छु । यस अवधिमा विभिन्न व्यवसायिक घराना, पर्यटकीय स्थलदेखि विश्वविद्यालयहरुसम्मको भ्रमण सकिएको छ ।

बिहीबार (७ नोभेम्बर) को भ्रमण भने हालसम्मको भ्रमण भन्दा अलि फरक रह्यो । हामीले विभिन्न विश्वविद्यालय भ्रमण गरेर त्यहाँका प्राध्यापक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने अवसर यस अघि नै पाइसकेका छौँ । बिहीबार भने हामी प्राथमिक तहको विद्यालय भ्रमण गर्ने अवसर पायौ । ससाना विद्यार्थीहरुसँग संवाद, त्यहाँका विद्यार्थीहरुको कला प्रदर्शनी हेर्नेदेखि साना विद्यार्थीहरुसँगै नाच्ने र खेल्ने गर्यौ ।

भ्रमण टोलीमा एशिया प्यासिफिक क्षेत्रका १४ देशका १६ पत्रकारसँगै चिनियाँ अधिकारीहरु र चिनियाँ पत्रकारहरु समेत थियौँ । युनान प्रदेशको जिनपिङमा रहेको जिनपिङ विद्यालयमा पुुग्ने वित्तिकै विद्यार्थीहरुले हामीलाई रमाइलो नृत्य सहित स्वागत गरे । त्यसपछि हामीले विद्यालयमा के के गर्यौ भन्नुभन्दा पहिला विद्यालयका बारेमा थोरै जानकारी दिइहालौँ ।

लामो इतिहास बोकेको स्कुुल

यो विद्यालय युनान प्रदेशको जिनपिङ भन्ने ठाउँमा छ । जिनपिङ चीनका विभिन्न काउन्टीहरु मध्ये एक हो । यस काउन्टीले यस क्षेत्रमा बसोबास गर्ने मियाओ, याओ, र दाइ जातीय समूहहरूको सांस्कृतिक विविधतालाई झल्काउँछ । जिनपिंग काउन्टी सुन्दर प्राकृतिक रुपमा सुन्दर छ भने प्राचीन संस्कृति, र परम्परागत जीवनशैलीका लागि प्रसिद्ध छ । यहाँ मुख्यतः पहाडी भूभाग छ, जसले यसलाई पर्यटकहरूका लागि एक आकर्षक गन्तव्य बनाएको छ ।

जिनपिंग काउन्टीमा घना जंगल, पहाडहरू, र नदीहरूको प्रशस्तता छ । हामी पनि त्यस्तै खोला नाला, पहाड, बाटामा देखिएका हरियाली खेतिहरु नियाल्दै जिनपिङ पुगेका थियौँ । हामी विद्यालय पुग्ने वित्तिकै विद्यार्थीहरुले निकै आकर्षक नृत्यका माध्यमबाट हामीलाई स्वागत गरे । सन् १९१८ मा स्थापना भएको यस विद्यालयमा २ हजार १ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।

यो स्कूल झिनपिंग काउंटीको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो पूर्ण काउन्टी–स्तरीय प्राइमरी स्कूल हो । २३ हजार ६८० वर्ग मिटरमा फैलिएको यस स्कुलमा ४३ कक्षामा २ हजार ११८ विद्यार्थी र ११० शिक्षक तथा कर्मचारीहरु छन् । यहाँ अर्को रमाइलो कुरा पनि छ । सन् २०१५ अप्रिलमा चीन र इक्वेटोरियल गिनी बीचको कूटनीतिक सम्बन्धको ४५औं वार्षिकोत्सवको अवसरमा, इक्वेटोरियल गिनीका राष्ट्रपति ओबियाङले चीनको भ्रमण गरेका थिए ।

उनले स्कूलको नयाँ शिक्षण भवनका लागि २५३० वर्ग मिटर क्षेत्रफलको वित्तीय सहायता प्रदान गरे । त्यसपछि यस विद्यालयको नाम परिवर्तन गरेर चीन–इक्वेटोरियल गिनी मित्रता प्राइमरी स्कूल राखिएको हो । त्यस अघि यस स्कुलको नाम झिनपिंग पहिलो प्राइमरी स्कूल थियो ।

विद्यार्थीको कला

हामीले सुुरुमा विद्यार्थीको नृत्य हेरौँ । साच्चिकै रमाइलोसँग प्रस्तुत गरिएको नृत्यले हाम्रो ध्यान खिच्यो । एक पछि अर्को राम्रो भने झै भयो । हामी अवलोकनका लागि विद्यालयका कक्षा कोठामा पुुग्यौँ । कक्षा कोठामा सजिएका आकर्षक वस्तुुहरुका बारेमा सानी एक जना विद्यार्थीले हामीलाई विफ्रिङ गरिन् ।

कक्षा कोठामा निकै आकर्षक चित्रकलाहरु थिए । कति मजाले सानी नानीले हामीलाई के हो ? कसरी बनाइयो ? कसले सिकायो ? भन्ने कुरा विस्तृतमा विफ्रिङ गरिन् । साना हातले पूर्ण कन्फिडेन्स सहित माइक समातेर गरेको बिफ्रिङ चर्चित टेलिभिजन प्रस्तोताको भन्दा कम थिएन ।

 

हामी अर्को कक्षा कोठामा गयौँ । त्यहाँ पनि फरक किसिमका वस्तुुहरु सजाएर राखिएका थिए । त्यहाँ सानो बाबुुले हामीलाई ब्रिफिङ गरे । चाइनिज भाषामा बिफ्रिङ गर्ने क्रममा उनले ‘वेलकम टूू अंकल आण्ट’ भनेको साच्चिकै रमाइलो सुनिएको थियो । हामीले उनको आवाज र उनले प्रयोग गरेको शब्द सुनेर एकदमै प्रफुल्लित भयौँ ।

त्यसपछि अर्को कोठामा पुुग्दा च्याउँघरहरु सजिएका थिए । त्यहाँको कला पनि उत्तिकै हेरिहरहुँ । अझ त्यो भन्दा पनि अर्की सानी सानीले त्यहाँ रहेका कलाबारे गरेको विफ्रिङ । वाउ ! साच्चिकै सुनिरहुुँ, हेरिरहुँ जस्तै । उनीहरुको कन्फिडेन्सको त जति प्रशंसा गरे पनि कम हुुन्छ । उनीहरु मध्ये २ जनालाई त इन्डोनेसियाका पत्रकार मारियो पास्कलले खुसी भएर खेलौना (डल) उपहार नै दिए ।

विद्यार्थी भर्सेस पत्रकार बास्केटबल
विद्यालय भ्रमणको अर्को रमाइलो पक्ष चाहिँ हामीले साना विद्यार्थीहरुसँग खेल गर्यौ । त्यसमा पनि अझ रोचक चाहिँ हामीलाई विद्यार्थीले पराजित गरे । खेलका लागि नेपाली पत्रकार म आफै, मलेसियाका पत्रकार मार्फिका अड्नान, श्रीलंकाका पत्रकार समिथ बोधिपक्ष, म्यानमारका पत्रकार वाई ह्लान माउ, पाकिस्तानका पत्रकार फैसाल इब्राहिम, इन्डोनेसियाका पत्रकार मारियो पास्कल र लाओसका पत्रकार सिहा चौलारीस तयार भयौँ ।

हामी जस्तै विद्यार्थीहरुको टिमबाट पनि ७ जना खेलाडिहरु तयार भए । हामीले एक अर्का टिमलाई शुभकामना दियौँ । रेफ्रिले एक जना तपाईहरुको टिमको मान्छे आउनुुस भने, म गएँ । हाम्रो टिमको क्यापटेन म भएछु । टस हामीले जित्यौँ । खेल मैले चालुु गरे ।

विद्यार्थीहरु उमेरमा साना र हामी उमेरमा जेठा थियौँ । तर खेलमा भने विद्यार्थीहरु निकै तगडा । उनीहरुलाई बराबरीमा रोक्ने हाम्रो अथक प्रयास काम लागेन । अन्तमा उनले उत्कृष्ट गोल गर्दै १–० को नतिजा हात पारे । हामीले उनीहरुलाई बधाई दियौँ ।

खेल सकिएपछि पनि हामीले विद्यार्थीहरुको ३ वटा उत्कृष्ट कला प्रदर्शनी हेर्यौ । कक्षा कोठाामा जम्मा भएका विद्यार्थीहरुले आफ्नै आवाजमा गित गाएर सुनाए । उनीहरुको संगित शिक्षकले बजाएको बाजासँगै गाउँदा गित साच्चिकै मिठो सुनिएको थियो । सुनिरहुँ थियो ।

 

गित सुनिसके पछि विद्यार्थीहरुले पुनः हामीलाई झण्डा नृत्य देखाए । रातो झण्डा बोकेर कला देखाउने त्यस खेललाई त्यहाँ झण्डा कसरत भनिने रहेछ । झण्डा कसरत पनि निकै आकर्षक थियो । त्यस लगत्तै विद्यार्थीहरुले बासमा नाचिने नृत्य (बेम्बो डान्स) देखाए । ससाना विद्यार्थीहरुले हामीलाई हात समातेर बेम्बो डान्स नचाए । हामी पनि रमायौँ ।

त्यसपछि हामी सामुहिक तस्वीर खिच्यौँ । जसरी स्वागत गरेका थिएँ, उसै गरी विद्यार्थीहरुले बिदाइ गरे । विद्यार्थीको मिठो मुस्कानको प्रतिउत्तरमा मुस्कानसहित बिदाइको हात हल्लाउदै हामी हाम्रो गन्तव्यतर्फ फर्किन अघि बढ्यौँ ।

केही विद्यार्थीहरु हामीलाई बससम्म छाड्न आएका थिए । जस मध्ये २ जनाले हातमा चकलेट बोकेका रहेछन् । उनीहरुले हाम्रा लागि एक एक चकलेट दिएर बिदाइको हात हल्लाए । हामीसँग दिनका लागि केही थिएन । हामीले केबल बिदाइको हातमात्रै हल्लाइरह्यौँ । बाई…….