Dhulikhel Eco Banner new

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

3.93K
shares

काठमाडौं, २८ कात्तिक । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ । तुवाँलोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन ।“भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्”, उनले भने । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अनुसार सुक्खा मौसम र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवाँलो लागेकाले हवाई यातायात प्रभावित भइरहेको बताइन् ।“तराईको भू–भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहान हुस्सु, कुइरो लाग्ने क्रम बढ्ने र उडान प्रभावित हुनेछ ”, उनले भनिन्, “नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ ।

डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिरो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ ।” तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।