धनुषामा विवाह गर्न दबाब दिएपछि प्रेमी राम ललितले गरे प्रेमिका रेखाको हत्या, प्रेमीसहित तीन युवक पक्राउ
वि.सं.२०८१ मंसिर १५ शनिवार १२:२१
shares

काठमाडौं, १५ मंसिर । धनुषाको जनकनन्दिनी गाउँपालिका -५ की २० वर्षीया रेखा कुमारी मण्डलको हत्या साथीको सहयोगमा उनका आफ्नै प्रेमीले गरेको खुलेको छ ।
मंसिर ८ मा जनकनन्दिनी गाउँपालिका- ४ र कमला नगरपालिका -२ सरावेकोबीच सिमानामा पर्ने नहरमा बाराभित्र रेखाको शव फेला परेको थियो ।
प्रहरीले उनको हत्यामा संलग्न तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका-३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका -८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।
पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाहको विषयमा विवाद भएपछि राम ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
राम ललित र रेखाबीच ४/५ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन । तर घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।
राम ललित भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । विवाह तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रेमी राम ललितको योजना अनुसार रेखालाई ज्ञानेन्द्र र रमेशले नहर नजिक लगेको थियो । डीएसपी सिंहले भने, राम ललितले रेखाको अनुहारमा ढुंगाले हानेर मुर्छित पारे र ब्लेडले घाँटी रेटेर हत्या गरे । त्यसपछि बोरामा बाँधेर नहरमा फाले । पक्राउ परेका तीनै जनामाथि कारबाही अगाडी बढाएको छ ।

















