Dhulikhel Eco Banner new

जिलिन भ्रमणले थपेको उत्साह  

3.43K
shares

चीन आएको ४ महिना पुुग्न लागेको छ । स्वदेश फर्कनुु अघि चीनका २ ठाउँ घुम्नु छ । एउटा जिलिन अर्को हार्विन । चीनका उत्तर पूर्वमा रहेका यी दुबै प्रान्तहरु अत्यधिक जाडो हुने प्रान्त हुन् । यहाँको अर्थतन्त्रलाई हिउ अर्थतन्त्र पनि भन्ने गरिएको रहेछ । किनकी यहाँको सरकारले हिउँ परेको मौसममा विभिन्न खेलहरु आयोजना गर्ने गरेको छ । दुइ प्रान्तमा पहिलो भिजिट हाम्रो जिलिन हुने पक्का भयो । जिलिनको तापक्रम कति होला ? मैले गुगल गरेर खोजे । माइनस २० सम्म पुग्ने रहेछ । सुन्दै डरलाग्दो । नेपालको भित्री मधेशमा जन्मिएर हुर्किएको मान्छे । गर्मी मौसममा गर्मीको राम्रै अनुभव छ । जाडोको भने धेरै ठूूलो अनुभव गरिएको छैन । मेरा लागि माइनस ४ डिग्री भन्दा कम तापक्रम जीवनकै पहिलो अनुभव हो ।

नेपालमा छदा काठमाडौंमा २ पटक चन्द्रागिरी डाँडामा परेको हिउँ खेल्न गएको छु । तर पनि यतिधेरै जाडोको सामना भने गर्न परेको छैन । एकताका त साथीहरुसँग मिलेर मार्दी हिमाल ट्रेक पनि गएको थिएँ । दशैं र तिहारको बिचको समय अर्थात अक्टोबर महिनामा जादा हिमालकै फेदमा पुग्दा पनि हिउ हेर्न पाइएन । अब यस्तो मान्छेलाई माइनस २०, दिनदिनै हिउ पर्ने भन्ने सुनेर मनमा डर नलाग्ने कुरै भएन ।

भ्रमण पक्का भए पछि चाइना प्रेस कम्युनिकेसन सेन्टरकी हाम्री असिस्टेन्ट मरियनले जिलिनको जाडोबारे जानकारी गराउदै पर्याप्त तयारी गर्न सुझाव दिएकी थिइन् । मैले पनि बेइजिङमा रहेको रसियन मार्केटमा गएर बाक्लो ज्याकेट किने । उलनको टोपी र बाक्लो पञ्जा अनलाइनबाट मगाए । तर पछि हाम्रो अर्को असिस्टेन्ट अल्वर्टले भने पछि पो थाहाँ भयो, डाउन ज्याकेट सिन्ह्वा न्युज एजेन्सीले हामी सबैलाई उपहार दिने रहेछ । मसहित एसिया प्यासिफिक क्षेत्रका १४ देशका १६ पत्रकारहरु छौँ । हामी सबैलाई सिन्ह्वाले उच्च गुणस्तरको डाउन ज्याकेट दियो ।

हामी २ डिसेम्बर सोमबारका दिन विहान अघि बढ्यौ । १ डिसेम्बर आइतबार नेपालमा स्थानीय तहको उपनिर्वाचन भइरहेको थियो । मेरै वडामा समेत उपनिर्वाचन भएका कारण मलाई पनि विशेष चासो थियो । चुनावी नजिता हेर्दा हेर्दै विहानको ४ बजे मात्रै सुते । विहान ६ः३० मा भेला हुनुपर्नेमा ६बजेर ३९ मिनेट गए पछि पो जुरुक्क उठे । त्यो पनि आफै कहाँ उठेको हो र ? विच्याटमा म्यानमारको साथी वाइ, मलेसियाको साथी मार्फिका र श्रीलंकाको साथी समिथले फोन गरेर उठाए ।

हाम्री असिस्टेन्ट मिरियनले त डाइरेक्ट नम्बरमै फोन गरिन् । निकै हतारिएर कपडा लगाए । राम्रोसँग मुख पनि धुन नपाई म अघि बढे । मेरो अपार्टमेन्टको कम्पाउन्डमा रोकिएको गाडिमा पुग्ने वित्तिकै गाडि अघि बढ्यो । साथीहरु मलाई नै पर्खिरहेका रहेछन् । करिब १ घण्टा पछि हामी बेइजिङ क्यापिटल विमानस्थल पुग्यौँ । बोर्डिङ पास लिएर पर्खाइमा बस्यौ । ९ः१० बजे १० मिनेमा हाम्रो चेकइन सुरु भयो । त्यहाँ पुगे पछि थाहाँ भयो, एशिया प्यासिफिकको हाम्रो टोलीसँगै अफ्रिका र क्यारिवेनका पत्रकारहरुको टोली पनि हामीसँगै भ्रमणमा जाने रहेछ । सबै चिनजानकै साथीहरु भएकाले थप रमाइलो हुने भयो ।

यो भ्रमण अद्धि म चीन आएपछि लायोनिङ प्रान्तको डालियन र सेञ्याङ, सिआन, गुुइजो, गोञ्जाओ, शांघाई, युनान लगायतका प्रान्तहरु घुुमेको छु । र लाओनिङ बाहेक सबै प्रान्तहरुमा म हवाई यात्रा नै गरेर पुुगेको छु । नेपालमा विमानस्थलबाट चेकइन भएपछि जहाजसम्म पुर्याउन बस आउछ । बसमा चढेर जहाजसम्म पुुग्न पाइन्छ । जहाज अगाडि पुगे पछि सबैले फोटो खिचिहाल्नछन् । चीनका यसअघिका यात्रामा सडकमार्गबाट जहाज सामुुन्ने गएर तस्वीर खिच्ने अवसर पाएको छैन । कारण, यहाँ विमानस्थलबाट एउटा बाटोमा हिडेपछि सिधै जहाजको भित्र पुगिन्छ ।

तर यो यात्रा भने फरक बन्यो । अर्थात नेपालको जस्तै बसमा चढेर हामी अघि बढ्यौ । जहाज नजिकै पुगेपछि बसबाट ओर्लियौ । नेपालीको बानी न हो, मौका पाए पछि किन छाड्नु चिसो हावाको प्रवाह नगर्दै मैले जहाजसँग सेल्फी हान्न भ्याइहाले । नेपालमा जहाज चढ्नेका लागि यो सामान्य कुरा भए पनि चीनमा भने मेरो यो पहिलो अनुभव थियो ।

जाडोले हात थुरथुर कापिरहेको थियो । मसँगै यहाँको विदेश मन्त्रालयका एक अधिकारी र अन्य पत्रकार साथीहरु पनि हुनुहुुन्थ्यो । बाक्लो र धेरै कपडा पनि लगाएको थिए । अत्यधिक जाडो भयो । हतार हतार गएर जहाजभित्र पसे । मोवाइलमा तापक्रम हेरेर माइनस ४ रहेछ । माइनस ४ हुँदा यस्तो सहन नसक्ने छ, जिलिनमा पुग्दा के होला हालत ? मनमा डर लिएर जहाजमा बसे । जेहोस यहाँ घरभित्र बस्दा, जहाज भित्र वा बसभित्र जाडो महसुस चाहिँ गर्न पर्दैन ।

केहीबेरमा जहाज उड्यो । हामीले बेइजिङ छाड्यौ । करिब एक घण्टा जहाज उडेपछि झ्यालबाट आँखा जमीनमा लगाए । जमीन सेताम्मे थियो । आकासबाट देखिएका बस्ती र जंगलहरु हिउँले ढाकिएर सेताम्मे देखिन्थे । ठाउँमा देखिएका पोखरी तथा तालहरु पनि पानी जमेको रहेछ भनेर आकासबाटै अनुमान लगाउन गाह्रो पर्ने अवस्था थिए । यस्तै दृश्यहरु हेर्दै हामी दिउसो ११ः३० नबज्दै जिलिनको विमानस्थलमा अवतरण भयौ । विमानस्थलभित्र त मौसम ठिकै थियो । बाहिर भने सहनै नसक्ने जाडो । सडकहरुमा हिउँ पन्छाएकाले होला सफा थिए, तर सडक किनारामा हिउँले पुरै सेताम्मे भएको देख्न सकिन्थ्यो ।

विमानस्थलबाट सिधै होटल गयौ । होटलमा चेकइन भएर खाना खायौ । आज हाम्रो भ्रमणको पहिलो दिन द हिल भन्ने ठाउँमा जानु पर्ने थियो । जहाँ परम्परागत प्रकारका घरहरु थिए । धेरै पसलहरु । निकै रमाइलो हेर्दै किनमेल गर्ने ठाउँमा हामी पुग्यौ । हामी पुग्दा पत्रकारहरुको हुल जम्मा भइसकेको रहेछ । स्थानीय पत्रकारहरुको हुल हामी विदेशी पत्रकारको भन्दा निकै ठूलो थियो । पत्रकारहरुले क्यामेरा मोवाइल निकालेर हामीतिर तेर्साउन थाले ।

 

हामीले ठूलै सेलिब्रेटी भएको महसुुस गर्यौ । हामी द हिल घुुम्यौ । पत्रकारहरुले हाम्रो अन्तरवार्ता लिए । हाम्रो अनुभव सोधे । सिन्ह्वा न्युज एजेन्सीकी पत्रकारहरु यान र मिक्की अलि बढी क्लोज भए । मिक्कीको नामको पछाडि माउस थपेर मैले मिक्की माउस बनाइदिए । धेरै नै रमाइलो भयो । द हिलमा परम्परागत शैलीका घरहरु र पसलहरु देखिन्थे । हातबाट बनेका हस्तकलाका साग्रीहरु पर्याप्त राखिएका थिए ।

त्यहाँ नेपालबाट आयात गरिएको भेडाको रौबाट बनेको टोपी पनि पाइने रहेछ । सिन्ह्वा न्युजकी पत्रकार यानले मसँग अलि क्लोज भइसकेकी थिइन् । उनले नेपालमा बनेको टोपी पनि यहाँ पाइन्छ भन्दै एउटा पसलमा लिएर गइन । नभन्दै त्यहाँ भेडाको उनबाट बनेको टोपी बेच्न राखिएको थियो । नेपालमा बनेको भनेपछि देख्दा मात्रै पनि निकै खुसी लाग्यो । यानसँगै मैले टोपीलाई ब्याकग्राउण्डमा राखेर छोटो भिडियो क्लिप बनाए । अनि नेपाली सामाग्री देखाइदिएकोमा यानलाई धन्यबाद दिए ।

पसलहरु भित्र घुम्दा हामीलाई जाडो महसुस भएको थिएन । धेरै साथीहरुले त बाक्लो ज्याकेट खोलेर भित्र घुमिरहेका थिए । फर्किने बेलामा बाहिर निस्किएपछि पो थाहाँ भयो, बाहिर त अत्यधिक जाडो रहेछ ।

बस चढेर हामी होटल फर्कियौ । होटलमा डिनर (साझको खाना) स्थानीय सकारले व्यवस्था गरेको रहेछ । खाना टेवलमा आइपुुग्यो अनि सामान्य औपचारिक कार्यक्रम सुरु भयो । छोटो औपचारिक कार्यक्रम पछि क्याम्पे अर्थात चियर्स भन्दै खाना सुरु गर्यौ । जिलिन पुगेपछि मैले पहिले नै चिनेका २ जना मान्छेहरुसँग पनि भेटे । एक जना लोरा । अर्की चाहिँ योयोन । यस अघि सिआन भ्रमणमा हाम्रो समूहबाट मसहित पाकिस्तान र इन्डोनियाका साथीहरु पुगेका थियौँ । सिआन भ्रमणको आयोजना पनि सिन्ह्वाले नै गरेको थियो । लोरालाई भेटे पछि सिआनमा बिताएका रमाइला दिन सम्झिए ।

खानासँगै हामी केहीबेर गफियौँ । भोलि विहान चाडै उठेर हिउँ खेल्न जाने प्लान थियो । खाना र गफ दुबैलाई बिट मार्दै हामी आआफ्नो रुमतिर अघि बढ्यौँ । यस अघि नै चीनका विभिन्न प्रान्तमा घुमेपनि जिलिन भ्रमण मेरा लागि विशेष थियो । यो भ्रमणका लागि म निकै उत्साहित थिए । साच्चिकै आगामी दिनका लागि समेत जिलिन भ्रमणले उत्साहित बनाउने अपेक्षा सहित पहिलो दिनको भ्रमण सफल भएको घोषणा गरियो ।